थप समाचारमंगलबार, बैशाख १०, २०७०
फिरौती रकम बरामद
महोत्तरीको सुन्दरपुर–१ बस्ने २५ वर्षीय पङ्कज यादवलाई धनुषाको महेन्द्रनगरबाट ४ चैतमा अपहरणगरी अपहरणकारी समूहले रु १० लाख फिरौती लिएको थियो । त्यसपछि यादवको शव गाडिएको अवस्थामा प्रहरीले जिल्लाको अनकार–४ स्थित रातो खोलाबाट १८ चैतमा बरामद गरेको थियो ।
प्रहरीले अपहरणमा संलग्न धनुषा महेन्द्रनगर–२ बस्ने कृष्णा पुर्वेलाई दुईदिन अघि बर्दिबासबाट पक्राऊ गरी फिरौती रकममध्ये रु चार लाख ४० हजार बरामद गर्न सफल भएको छ ।
पुर्वेले सिरहाको अर्नामा– ९ बस्ने आफ्नी काकीको गाई गोठमा सो पैसा लुकाएको बताए पछि प्रहरीले सो रकम बरामद गरेको प्रहरी निरीक्षक जयश्री राज कुँवरले बताए । प्रहरीले फिरौती रकम परिवारजनलाई बुझाएको छ भने अपहरणकारी पुर्वेलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
यसअघि सोही काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले गत १९ चैतमा धनुषा, भरतपुर– ३ का कुशेश्वर ठाकुर र सिरहा जिल्ला अर्नामा–९ बस्ने गणेशकुमार सिंहलाई पनि पक्राउ गरी सकेको छ ।
