थप समाचारबुधबार, बैशाख ११, २०७०
‘ह्वाइट हाउसमा विष्फोट’ को ट्वीटले बबाल
एसोसिएटेड प्रेस (एपी) को ट्विटर अकाउण्ट ह्याक गरेर कसैले ‘अमेरिकी राष्ट्रप्रतिको निवास ह्वाइट हाउसमा विष्फोट भएको र राष्ट्रपति बाराक ओबामा घाइते भएको’ भन्ने गलत खबर सम्प्रेषण गरेपछि अमेरिकामा बबाल मच्चियो ।
एपीले तुरुन्तै उक्त समाचार गलत भएको र आफ्नो ट्विटर अकाउण्ट ह्याक भएको स्पष्ट गरे पनि उक्त ट्वीट कैयन पटक रिट्वीट भइसकेको थियो र यो खबर आगो जस्तै फैलियो ।
यस्तो गलत ट्वीट आएको केही बेरमै ह्वाइट हाउसका प्रवक्ता जे कार्नीले पत्रकारहरुलाई बाराक ओबामालाई केही नभएको बताए । तर, अमेरिकी बजारमा हाहाकार मच्चिसकेको थियो । अमेरिकी स्टक बजार इन्डेक्स (डोउ जोन्स औद्योगिक औषत) १५० अंक तल झर्यो ।
ह्वाइट हाउसका प्रवक्ताको विज्ञप्तिपछि मात्रै बजार सम्हालियो ।
एपीका अनुसार ह्याकरहरुले पहिलेदेखि नै उसका पत्रकारहरुको पासवर्ड चोरी गर्ने प्रयास गरिरहेका थिए तर, त्यो सम्भव नभएपछि ट्विटर अकाउण्ट ह्याक गरियो । एपीले ह्याक भएको अकाउण्ट ठिक गर्ने कोशिश भइरहेको बताएको छ ।
एपीका प्रवक्ता पल कल्फर्डले सुरक्षाका दृष्टिले एपीको वायर सर्भिस लगायत ट्विटर अकाउण्ट पनि केही समयका लागि बन्द गरिएको र ह्याकिंगका बारेमा जाँच भइरहेको बताएका छन् ।
सिरियाका राष्ट्रपति बशर अल असदलाई समर्थनको दाबी गर्ने एक समूहले ह्याकिंगको जिम्मेवारी लिएको छ । उसले ट्विटरमा ‘एपी अब सिरियाली इलेक्ट्रोनिक आर्मीसँग छ’ भन्ने लेखेको छ ।
बीबीसी

