थप समाचारबुधबार, बैशाख ११, २०७०
सिरियाली विद्रोहीद्वारा विमानस्थल कब्जा गरेको दाबी
सिरियाली विद्रोहीले अलेपोस्थित विमानस्थल आफूहरुले कब्जा गरेको बताएका छन् । उक्त विमानस्थल बाहिर रहेको सैनिक गण कब्जा गरेर गणमा रहेका सैनिकको हत्या समेत गरेको विद्रोहीको दाबी छ ।
विमानस्थललाई नियन्त्रणमा लिन विद्रोहीहरु नजिक पुगिसकेको सिरियामा रहेका मानवअधिकारवादीहरुले जनाएका छन् । सिरियाली आन्दोलनको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि सो कुराको पुष्टि गरेको छ ।
देशको धेरै जनसङ्ख्या रहेको अलेपो प्रान्तमा रहेको सो विमानस्थलको सुरक्षार्थ खटिएका सबै सैनिकलाई नियन्त्रणमा लिइसकेको जानकारी पनि अधिकारीहरुले दिएका छन् ।
विद्रोहीहरुले पहिलो पटक यसरी विमानस्थल कब्जा गरेको पनि समाचारमा जनाइएको छ । बुधबार दिउँसोसम्ममा विद्रोही र सरकारी सेनाबीच भीषण भिडन्त जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
गत ११ मार्चदेखि सिरियाली आन्दोलन तीन वर्षमा प्रवेश गरेको छ । सो आन्दोलनका क्रममा ७० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएकोे मानवअधिकारवादीहरूले जनाएका छन् ।
मानवअधिकारवादीका अनुसार आन्दोलनका क्रममा हजारौं नागरिक घाइते भएका छन् र कयौं बेपत्ता बनाइएका छन् । अहिले पनि दिनहुँजसो त्यहाँ हत्या हिंसाका घटना भई नै रहेका छन् ।
राष्ट्रपति बसार अल असादको राजिनामाको मागगर्दै शुरु भएको सो आन्दोलन तीन वर्षमा प्रवेश गरिसक्दा पनि यसको शान्तिपूर्ण समाधानको कुनै विकल्प भने अहिलेसम्म पनि देखिएको छैन ।
उता प्राप्त अर्को एक समाचारअनुसार बुधबार पनि सरकारी सेना र विद्रोहीबीच राजधानी दमासकसमै भीषण दोहोरो आक्रमण भइरहेको पनि अधिकारवादीहरुले जनाएका छन् ।
सरकारी सेनाले देशका विभन्न स्थानमा आक्रमण गर्ने क्रमलाई थप तीव्र पारेको समाचारमा जनाइएको छ । विदेशी समुदायले त्यहाँका विद्रोहीहरुलाई नै हतियार सहयोग गरेकोले उनीहरुले पनि सेनामाथि कडा रुपमा नै आक्रमण गर्ने गरेका छन् ।
एएफपी

