समाचारबिहीबार, बैशाख १२, २०७०

योजना आयोगका पदाधिकारीको राजीनामा स्वीकृत

हिमालखबर

योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीलगायत पदाधिकारीले ९ बैशाखमा दिएको राजीनामा १२ बैशाखको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ । क्षेत्री बाबुराम भट्टराई नेतृत्वमा रहेको सरकारको पालामा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।

बैठकले अरविन्द योग मन्दिर काठमाडौँ नामक संस्थाले एउटा सवारीसाधन खरिद गर्दा लाग्ने कर भन्सार असुल गरेको प्रमाण पेस गरेपछि सो संस्थालाई रु दश लाख शोधभर्ना गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाल–भारत संयुक्त सैन्य सगरमाथा आरोहण दललाई आरोहण गर्दा लाग्ने सलामी दस्तुर दुई लाख ५० हजार अमेरिकी डलर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए ।

बैठकले केही निजामती कर्मचारी र तिनका परिवारलाई निजामती सेवा नियमावली–२०५० बमोजिम पाउने सुविधाबमोजिम जनही रु पाँच÷पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी सहसचिव देवनारायण शर्माले यही वैशाख १ गतेदेखि लागू हुने गरी दिएको राजीनमा पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

सरकारले सिंचाई नीति २०७० को मस्यौदा सरकारसमक्ष प्रस्तुत भएकोमा त्यसलाई आर्थिक तथा प्राविधिक समितिमा पठाएर त्यससम्बन्धमा निर्णयमा पुग्ने निर्णय गरेको छ ।

यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिवमा सोही परिषदमा कार्यरत डा. रामहरि लामिछानेलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>