समाचारबिहीबार, बैशाख १२, २०७०
मधेशवादी दलहरुसँग गठबन्धनः ठाकुर
१२ बैशाखमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै तमलोपा अध्यक्ष महन्थ ठाकुरले चुनावी गठबन्धनका लागि मधेशवादी दलहरुसँग कुराकानी भइरहेको बताउँदै त्यस्तो गठबन्धन भएमा माओवादीसँगको गठबन्धन जारी नरहने पनि ठाकुरले बताए ।
अध्यक्ष ठाकुरले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाईसमेत उच्चस्तरीय राजनीतिक संयन्त्रमा बसी चुनावलाई सफल बनाउन सहयोग गर्न पनि आग्रह गरे । उनले वर्तमान सरकारको मुख्य कार्य नै संविधानसभाको चुनाव सम्पन्न गराउने भएकाले सरकारले मंसीरमा चुनाव गराउनेमा शङ्का नगर्न पनि सबैलाई आग्रह गरेका थिए ।
गठबन्धनको योजना छैनः महतो
मधेशवादी दलहरुबीच चुनावी गठबन्धनका सम्बन्धमा आफ्नो पार्टीको कुनै योजना नभएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रतिक्रिया दिएका छन् ।
“मधेशका मुद्दा र सिद्धान्तका आधारमा आवश्यक ठानिएमा केही स्थानमा गठबन्धन हुन सक्छ तर, अन्य कुनै आधार नभएर चुनावमा केही सिट जित्नका लागि मात्रै हामी कसैसँग गठबन्धन गर्दैनौं,” सदभावना अध्यक्ष राजेन्द्र महतोले हिमालखबरलाई बताए ।
महतोले अगाडि भने, “आफूलाई मधेशवादी भनाउने तर मधेशविरोधि क्रियाकलाप गर्ने केही दलहरुले गठबन्धनको कुरा गरेका हुनसक्छन् । त्यस्तो कमजोर गठबन्धनमा सदभावना सहभागी हुँदैन ।”
