समाचारबिहीबार, बैशाख १२, २०७०
‘जग्गा त आयो, आँखा कसले दिने ?’
११ साउन २०५५ मा माओवादी कार्यकर्ताहरुको समूहले रुकुम खोलागाउँ–४ का सामान्य किसान गोपाल प्रसाद शर्माका आँखामा तेजाब खन्याएका थिए । त्यसबेला माओवादीले उनलाई ‘सामन्ती सत्ता’ को मतियार बनेको भन्दै दृष्टिबिहिन मात्रै बनाएन, सम्पूर्ण जायजेथा लुट्नुका साथै उनको जग्गा समेत कब्जा गरेको थियो ।
खोला गाउँ–९ मा रहेको १७ सय वर्गमिटर जग्गा स्थानीय माओवादी कार्यकर्ता श्यामलाल दमाईले भोगचलन गर्दै आएका थिए । केहि दिनअघि नेपाली कांग्रेस र नेकपा–माओवादी बीच भएको बैठकमा शर्माको जग्गा फिर्ता गर्ने सहमति भएपछि उनको जग्गा फिर्ता भएको स्थानीय शान्ति समितिका सदस्य खड्क डाँगीले बताए ।
जग्गा कब्जा गरी उपभोग गर्ने श्यामलाल वैद्य समूहका कार्यकर्ता हुन् ।
ढिलै भए पनि आफूले जग्गा फिर्ता पाएकोमा केही खुशी देखिएका शर्मा भन्छन, “जग्गा त फिर्ता भयो तर मेरा आँखा कसले फिर्ता गरिदेला ?”
आँखामा परेको तेजावको असरले शर्माको टाउको र शरीरका विभिन्न भागमा स्नायु समस्या पनि देखिन थालेको छ ।
लक्ष्मण केसी, रुकुम

