समाचारबिहीबार, बैशाख १२, २०७०
मैले एमाले सकियो भनेकै छैनः दाहाल
सल्यानको वाफुखोलामा १२ बैशाखमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेले काँग्रेससँग मिलेर चुनावमा गएपछि कम्युनिष्ट सिद्धान्त नरहने मात्र भनेको दाबी गरेका छन् ।
“मैले त एमालेले कांग्रेससँग मिलेर चुनाव लडेमा सिद्धान्ततः एमाले कम्युनिष्ट रहने छैन भनेको हो, मेरो भनाइको आशय एमाले नै छैन भन्ने हैन,” दाहालले भने ।
उनले आफूले नभनेको कुरालाई सञ्चार माध्यमहरूले गलत प्रचारप्रसार गरेको आरोपसमेत लगाए ।
दाहालले आसन्न भारत भ्रमणको क्रममा नेपालको आर्थिक विकासका लागि कुरा उठाउने भन्दै भारतले सहयोग नगरेमा उसको सुरक्षा चिन्तामा सहयोग गर्न नसकिने भन्न पनि भ्याए ।
९ बैशाखमा बर्दियाको गुलरियामा आयोजित सभामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले । एमालेबाट अशोककुमार राई र रामचन्द्र झाहरुले छाडिसकेकाले मुलुकमा एमाले पार्टी नरहेको बताएका थिए । दाहालले भनेका थिए, “अब एमाले कहाँ छ, एमाले छैन, एमाले सकियो ।”
दाहालको ‘एमाले छैन’ भन्ने अभिव्यक्ति आएपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले दाहाल मानसिक रोगी भएको र उनलाई उपचारका लागि राँची लैजानु पर्ने प्रतिक्रिया दिएका थिए ।
