थप समाचारबिहीबार, बैशाख १२, २०७०
बंगलादेशमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या २७३ पुग्यो
बंगलादेशमा पाँचवटा जति साना ठूला गारमेन्ट कारखाना रहेको आठतले भवन ११ बैशाख बिहान भत्किंदा मृत्यु हुनेहरुको संख्या २७३ पुगेको छ भने मृतकको संख्या अँझै बढ्न सक्ने अनुमान गरिएको छ ।
उक्त भवनको भग्नावशेषबाट शव निकाल्ने प्रयास अझैपनि जारी नै रहेको उद्धारकर्मीले जनाएका छन् । उनीहरूका अनुसार अझैपनि केही व्यक्ति च्यापिएको हुनसक्ने अनुमान छ ।
भवन धरशायी हुँदा भएको दुर्घटनाले पाँच महिना मात्रअघिको यस्तै दुर्घटनाको सम्झना गराएको पनि राजधानी ढाकाबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गत नोभेम्बर महिनामा पनि गार्मेन्ट कारखानामा आगलागी हुँदा ११२ व्यक्तिको मृत्युभएको थियो । बङ्गलादेशको टेक्सटाइल उद्योग २० अर्ब अमेरिकी डलर बराबर रहेको बताइन्छ भने यस उद्योगमा रहेको कमजोर सुरक्षा व्यवस्थाका बारेमा समय समयमा चिन्ता व्यक्त गर्ने गरिन्छ ।
दुर्घटनामा परी आठसयजना भन्दा बढी घाइते भएका छन् । कतिपय घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ ।
भवन निर्माणसम्बन्धी आवश्यक आचारसंहिताको पालना नगर्ने र कमसल खालका निर्माण सामग्री प्रयोग गरी धेरै तल्ले घर बनाइने हुँदा यस्ता घटना हुने गरेका पाइएको छ ।
सडकमा प्रदर्शन
यसैबीच बङ्गलादेश सरकारले १२ बैशाखमा शोकको घोषणा गरेको पनि समाचारमा जनाइएको छ । उक्त दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न राष्ट्रिय शोकको घोषणा गरिएको हो ।
यसैबीच दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिक विरोधमा उत्रिएका छन् । उनीहरुले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोशाक सञ्चालन गर्ने मालिकलाई कडा कारबाही गर्न माग गरेका छन् ।
प्रहरी भवनका मालिकसँग मिलेर पक्राउ नगरेको प्रदर्शनकारीहरुको आरोप छ । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले ढुङ्गामुढा गरेका छन् भने प्रहरीले ब्यापकमात्रामा रबर गोली र अश्रु ग्याँस प्रहार गरेको छ ।
