थप समाचारशनिबार, बैशाख १४, २०७०
बैद्य र यादवका माग पूरा गर्न सकिंदैनः पौडेल
वर्तमान सरकार चुनाव गर्नकै लागि गठन भएकाले त्यसमा कुनै शंका नगर्न भन्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकारको खारेजीको माग नाजायज भएको बताएका छन् ।
१४ बैशाखमा पर्सामा आयोजित पत्रकार भेटघाटमा उपसभापति पौडेलले वर्तमान सरकार बिघटन हुने बित्तिक्कै मुलुकमा चुनावको सम्भावना सकिने र त्यसपछि मुलुक असफल राष्ट्र बन्न सक्ने भन्दै निर्वाचन विथोल्ने षडयन्त्रमा कोही पनि नलाग्न आग्रह गरे ।
पौडेलले चुनाव बिथोल्ने कार्य कसैले गरे त्यो नेपाली जनताका लागि सह्य नहुने चेतावनी पनि दिए । संविधानसभाको निर्वाचन नेपाली जनताको एक मात्र लक्ष्य र एजेण्डा भएको दाबी गर्दै उनले आगामी मंसीरमा जसरी भए पनि संविधानसभाको चुनाव भएरै छाडने बताए ।
एमाओवादी संघीयताको पक्षधर नभएको र ऊ अझै पनि केन्द्रिकृत सत्ताको सोचबाट मुक्त हुन नसकेको पौडेलको आरोप थियो ।
पौडेलले निर्वाचनमा काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने पनि बताएका थिए ।
अली असगर, वीरगञ्ज

