समाचारआइतबार, बैशाख १५, २०७०
सगरमाथा आरोहण गर्ने दुई विदेशी कुटिए
सगरमाथा आरोहणका क्रममा बाटो बनाउने शेर्पा कुल्लीसँग सामान्य भनाभन हुँदा कुल्लीको कुटाइबाट आरोहण दलका दुई विदेशी नागरिक घाइते भएका छन् ।
चोयु ट्रेक्सबाट आरोहणमा गएका इटालियन नागरिक सिम्बोली मोरो र स्विस नागरिक उल स्टिक शेर्पा कुल्लीको कुटाइबाट सामान्य घाइते भएपछि उनीहरुलाई हिजो अबेर बेसक्याम्प झारिएको थियो ।
उनीहरुले नेपाल सरकारले आफूहरुको पर्याप्त शान्ति सुरक्षाको व्यवस्था नगरे आरोहण नै परित्याग गरेर फर्कने चेतावनी दिएका छन् ।
“उनीहरुले तत्काल स्थानीय प्रशासनले सुरक्षा नदिए आरोहण नै परित्याग गर्ने बताइरहेका छन्, हामीले अहिले केही समयका लागि विश्वस्त तुल्याएर बेसक्याम्पमा नै राखेका छौँ”, चोयु ट्रेक्सका निर्देशक ङिमा नुरु शेर्पाले भने, “यसरी हिमाल चढ्ने क्रममा नै आरोही कुटिन्छन् भने नेपालप्रति नै नकरात्मक दृष्टिकोण पर्न जान्छ, यो हाम्रो देशको सुरक्षा र अन्य व्यवस्थापकीय पद्धतिको बेइज्जत हो ।”
एक्सपिडिसन अपरेटर एसोसियसनको संयोजनमा बाटो बनाउने कार्यमा सो क्याम्पमा खटिएका शेर्पाहरुले के कारणले उनीहरुलाई हातपात गरे भन्ने कुरा नखुले पनि उनीहरुले नै बनाएको बाटोकै विषयमा कुल्लीहरुले दबाब दिएपछि घटना घटेको हुनसक्ने अनुमान गरिएको छ ।
योभन्दा अगाडिका आरोहण टोलीलाई पनि शेर्पा कुल्लीहरुले दुःख दिने गरेको गुनासो ट्रेकिङ एजेन्सीले गर्दै आएका छन् ।
यता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भने घटनाबारे सत्यतथ्य पत्ता लगाई आरोहीलाई कुटपिट गर्नेलाई तुरुन्त गिरफ्तार गर्ने र विदेशी नागरिकलाई सुरक्षाको व्यवस्था मिलाउने बताएका छन् ।
खुम्जुङ गाविसबाट बेसक्याम्पमा पुग्न प्रहरीलाई दुई दिन लाग्छ । खुम्जुङभन्दा माथि राज्यको कुनै उपस्थिति छैन भने आरोहीको चाप अत्यधिक हने विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि राज्यले एक जना पनि पर्यटन प्रहरीको व्यवस्था नगर्दा आरोहणकै क्रममा पर्यटक कुटिने घटना बढ्दै गएका छन् ।

