समाचारसोमबार, बैशाख १६, २०७०
पढाइका लागि भोकैप्यासै
शुभचिन्तकहरूले महाकाली नदीमा बालुवा चालेर पढिरहेकी आरतीका भाइहरूको चाहिं पढाइ निरन्तर होस् भन्ने चाहेको बुझ्न्छि । उनका भाइ अनिल १० वर्ष र अशोक ८ वर्षका छन् ।
भीमदत्त नगरपालिका–१२ ओदालीकी आरतीले वीपी स्मृति निमाविबाट २ कक्षा र भाइहरूले १ कक्षा उत्तीर्ण गरेका छन्, यसैपालि । उनीहरूलाई नयाँ कक्षामा भर्ना हुन गाह्रो परिरहेको छ । उनीहरूका बाबुआमा चार वर्षदेखि बेपत्ता छन् ।
लुगा किन्न भनेर बजार गएकी आमा फर्किनन्, उनलाई खोज्न भारततिर लागेका बाबु पनि उतै हराए । “कोही मरे भन्छन्, कोही जिउँदै छन् भन्छन्”, आरती भन्छिन्, “कोही सहारा नभएकोले छरछिमेकहरू भाइहरूलाई मात्र पढाऊ भन्छन् ।”
उनीहरू गाउँलेले बनाइदिएको टहरामा बस्छन् । स्थिति कस्तो भने, भोक लाग्दा माटो खाँदाखाँदै बानी नै लागेका अनिललाई पत्थरी भयो । नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली च्याप्टरका सदस्य आशिफ कुँवर र गैर–सरकारी संस्था आदर्श नेपालका अभिमन्यु बस्नेतले उपचार गरिदिए पनि माटो खाने बानी छुटेन । अप्रेशनको लागि कोहलपुर मेडिकल कलेजमा बस्दा नर्सहरूले अनिललाई स्कूले पोशाक किनिदिए ।
आरती भने साथी रेखा दमाइले दिएको स्कर्टले काम चलाइरहेकी छन् । “७५ रुपैयाँ तिर्न नसक्दा स्कूलले अशोकको एक कक्षाको परिचयपत्र त दिएको छैन”, आरती भन्छिन्, “लुगा कसरी किन्नु ?”
र पनि, आरतीले हिम्मत हारेकी छैनन् । उनलाई जसरी पनि पढ्नु छ । त्यो रहर पूरा गर्न उनी महाकालीको पानीले पेट भर्दै दिनभर बालुवा चाल्दैछिन् । “अहिले त छुट्टी पनि भएकोले सजिलो छ”, आरती भन्छिन् ।
बच्चु विक, धनगढी
साप्ताहिक हिमाल खबरपत्रिकाबाट
