समाचारमंगलबार, बैशाख १७, २०७०
चुनावकै पक्षमा जनमत
सरकार र प्रमुख राजनीतिक दलहरूले संविधानसभा निर्वाचनको जोडघटाउ शुरू गरिरहँदा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले भने खिलाफमा गतिविधि गरिरहेको छ। तर, सर्वेक्षणले भने वैद्य माओवादीको त्यस्तो गतिविधिको विपक्षमा जनमत देखाएको छ। गत साता हिमाल ले काठमाडौं उपत्यकासहित देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणका बहुसंख्यक सहभागीले माओवादीको चुनाव हुन नदिने अडानलाई गलत ठहर्याएका छन्।
‘मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले खिलराज रेग्मी नेतृत्वको सरकार रहेसम्म चुनाव हुन नदिने भन्ने घोषणा गर्नुलाई के भन्नुहुन्छ?’ भन्ने प्रश्नमा दुईतिहाइ उत्तरदाताले ठीक नभएको जवाफ दिए। कुल ३५० उत्तरदातामध्ये ६३ जना अर्थात् १८ प्रतिशतले मात्र ‘ठीक’ मानेका छन्। १३.७ प्रतिशत उत्तरदाताले थाहा छैन भन्ने उत्तर दिए भने भन्न नचाहने उत्तरदाता १.७ प्रतिशत छन्। ठीक भन्नेमध्ये सबैभन्दा धेरै ३२ प्रतिशत सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका छन्। वैद्य नेतृत्वको माओवादी घोषणालाई गलत भन्नेमध्ये २५–३९ वर्ष समूहका सबैभन्दा धेरै ६९.५ प्रतिशत छन्।
सबैभन्दा धेरै ८४ प्रतिशत नेपालगञ्जका तथा घोराही, बिर्तामोड र विराटनगरका ८०–८० प्रतिशत उत्तरदाताले चुनाव विथोल्ने माओवादी घोषणालाई गलत ठहर्याएका छन्।
चुनाव विथोल्ने घोषणालाई ‘ठीक’ भन्ने उत्तरदातालाई सोधिएको, ‘वैद्य नेतृत्वको माओवादीलाई चुनावका लागि कसरी मनाउनुपर्ला?’ भन्ने प्रश्नमा ३८.१ प्रतिशतले राजनीतिक दलहरूबीचको गोलमेच सम्मेलनको विकल्प दिए। ३०.२ प्रतिशतले वैद्य माओवादीलाई पनि अहिलेकै राजनीतिक संयन्त्रमा ल्याएर चुनाव गर्नुपर्ने बताए भने २०.६ प्रतिशत उत्तरदाताले राष्ट्रपतिबाट भएको संविधान संशोधन फिर्ता लिंदै वर्तमान सरकार भंग गर्नुपर्ने विचार दिए।
चुनाव हुन नदिने वैद्य माओवादीको घोषणालाई ‘बेठीक’ बताउने उत्तरदातालाई सोधिएको, ‘वैद्य नेतृत्वको माओवादीलाई चुनावको सन्दर्भमा के गर्ने?’ भन्ने प्रश्नमा ७२.१ प्रतिशत उत्तरदाताले व्यापक राजनीतिक दबाबमार्फत चुनावमा आउन मनाउनुपर्ने विचार राखे। वैद्य नेतृत्वको माओवादीको सहभागिता बेगर नै चुनाव गर्नुपर्छ भन्ने विचार राख्ने १८.९ प्रतिशत भेटिए।

‘आफूले भनेजस्तो नहुँदा वैद्य माओवादीले चुनाव विथोल्न सक्ला?’ भन्ने प्रश्नको जवाफ मिश्रित खालको छ। ४०.९ प्रतिशत उत्तरदाताले माओवादीले ‘चुनाव विथोल्न नसक्ने’ धारणा राखे भने विथोल्न सक्छ भन्नेहरू ३६.९ प्रतिशत थिए। २१.१ प्रतिशत उत्तरदाताले यसबारे आफूलाई थाहा नभएको बताए। माओवादीले चुनाव विथोल्न सक्दैन भन्नेमा ४८.२ प्रतिशत पुरुष छन् भने ३२.१ प्रतिशत महिला। नेपालगन्जका र घोराहीका ६४–६४ प्रतिशत, पोखराका ६० तथा विराटनगर, बिर्तामोड र नारायणगढका ५२–५२ प्रतिशतले वैद्य माओवादीले चुनाव विथोल्न नसक्ने धारणा राखेका छन्।
तथ्यांकशास्त्री बालकृष्ण खडकाको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ । –सम्पादक
१५ वैशाखको साप्ताहिक खबरपत्रिका हिमालबाट
