थप समाचारमंगलबार, बैशाख १७, २०७०
भारतीय नागरिकको हराएको सामान फिर्ता
सोलुखुम्बु पुगेका भारतीय नागरिक सुदन सु चिन्तमणि पानसेले बाटोमा हराएको नगद २१ हजार भारतीय रुपैयाँ, सोनी क्यामरा, डेबिट तथा भिसा कार्ड, पेन ड्राइभ, पर्स र डायरी समेतको सामान भेट्ने लीला अन्जना खत्रीले उक्त सामानहरु १७ बैशाखमा फिर्ता गरेकी छन् ।
अन्जनाका श्रीमान् इन्द्रहाङ लिम्बूखिमले लुक्लामा प्रहरीको अगुवाइमा स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा भारतीय नागरिक पानसेलाई नगद र सबै सामानहरु बुझाएका हुन् ।
सोलुखुम्बुको फाक्दिन निवासी लीला अन्जना खत्रीले १६ बैशाखमा आमालाई उपचारका लागि लुक्ला अस्पताल लिई आउने क्रममा चौरीखर्क–२ क्याङ्मा रहेको ठूलो रूखमुनि नगदसहित उक्त समानहरु बेवारिसे अवस्थामा फेला पारेकी थिइन् ।
लीला अन्जनाले सामान भेट्टाएको बारे उनका श्रीमान् लिम्बूखिमले प्रहरीलाई फोनमार्फत जानकारी गराएका थिए । जानकारीपश्चात् इलाका प्रहरी कार्यालयको टोलीले निजको घरमा गई सामानहरु जिम्मा लिएको थियो ।
सामान बुझेपछि भारतीय नागरिक पानसेले नेपाली र भारतीय जनताबीच भाइभाइको सम्बन्ध रहेको भन्दै नेपाली जनताको इमान्दारी खुशी व्यक्त गरेका छन् । उनले सामान बुझाउने इन्द्रहाङलाई खादा लगाएर सम्मान गर्दै प्रशंसास्वरुप केही नगदसमेत दिएका छन् ।
रासस
