समाचारबुधबार, बैशाख १८, २०७०
जीप पक्राउ परेपछि थाहा भयो, ‘चोरीको रहेछ’
विराटनगर–२१ का अजय शर्माले निजी प्रयोजनमा चलाउने गरेको को १ च ६३९८ नम्बरको स्करपीयो जीप क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको विशेष टोलीले १७ वैशाखमा विराटनगरबाट नियन्त्रणमा लिएको छ ।
२३ लाख रुपैयाँमा पूरानो गाडी खरिद गरेर चढ्दै आएका शर्माले आफ्नो गाडी प्रहरीले नियन्त्रणमा लिएपछि मात्रै गाडी चोरीको भएको थाहा पाएको बताएका छन् ।
शर्माका अनुसार गत २५ असारमा इटहरीस्थित यातायात ब्यवस्था कार्यालयमा दर्ता भएको सो जीप उनले ललितपुरका केदार थापाबाट खरिद गरेका थिए । थापाले पनि धनुषा बसहिया–२ का सुधाम्सु कमलस“ग खरिद गरेका थिए । गाडीको ब्लुबुकमा जनाइए अनुसार जनकपुर भन्सारको १४१ नम्बरको प्रज्ञापनपत्रका आधारमा गाडी यातायात कार्यालय गण्डकीमा २०६७ चैत ३ मा दर्ता भएको थियो ।
गण्डकी अञ्चलमा दर्ता भएको साबिक ग १ च ६७७६ नम्बरको सो जीप कोशीमा अञ्चलीकरण गरेर नम्बर परिवर्तन गरिएको थियो ।
चोरीको गाडी नक्कली कागजका आधारमा गण्डकीमा दर्ता गराउँदा र कोशीमा अञ्चलीकरण गर्दासम्म यातायातका कर्मचारीको मिलोमतो नभई सम्भव नहुने प्रहरीको दाबी छ ।
दुई दिनअघि यस्तै प्रकृतिको को १ च ६३९९ नम्बरको सेन्ट्रोकारपनि प्रहरीले पक्राउ गरेको थियो । दुबै गाडीको नम्बर र अञ्चलीकरण गरेको मितिमा एक अंकको मात्रै फरक रहेकाले यसमा यातायातका कर्मचारीको मिलेमतो भएको शंकालाई थप पुष्टि गर्ने प्रहरीको भनाई छ ।
आफूले २३ लाख रुपैयाँमा किनेर चढेको गाडी पक्राउ परेपछि अजय शर्माले यातायात ब्यवस्था कार्यालय र गाडी बिक्रेताविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।
कमल रिमाल,विराटनगर
