समाचारबुधबार, बैशाख १८, २०७०
संघीयताको आधार भाषा हुन सक्दैनः यादव
रिपोर्टर्स क्लब नेपालले १८ बैशाखमा आयोजना गरेको साक्षात्कारमा मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भाषाको आधारमा नेपालमा संघीयता हुन नसक्ने भन्दै भाषा, जाति लगायतका कुनै एक आधारमा हुने संघीयता टिकाउ नहुने बताएका छन् ।
“पहिचान सहितको संघीयता हुनु पर्छ, पहिचानको आधार भाषा, सँस्कृति, जाती जे पनि हुन सक्छ,” यादवले भने, “तर आर्थिक सम्भाब्यता पनि हुनु पर्छ यो विनाको संघीयता नेपालमा टिक्ने वाला छैन ।” यादवले थपे, “बाँकी गफाडीका गफ हुन जसको कुनै अर्थ छैन ।”
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भाषाको आधारमा संघीयता बनाउन भारतले सुझाव दिएको भनि दिएको अभिब्यक्ति संघीयता समाप्त पार्ने षडयन्त्र भएको यादवले दावी गरे । यादवले भने, “प्रचण्ड यो देशमा संघीयता चाहदैनन् । उनले चाहेको भए अहिलेसम्म नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भईसक्थ्यो ।”
दल दर्ता गर्ने
साक्षात्कारमा यादवले आफूले निर्वाचन आयोगमा दल दर्ता गराउने तर, यथास्थितिमा निर्वाचन हुन नसक्ने दाबी गरे ।
निर्वाचन आयोगमा दल दर्ता गर्नु लोकतन्त्रमा नियमित प्रक्रिया भएको यादवले बताए । “चार दलका महापण्डितले मंसीरमा निर्वाचन गर्छौ भनेर जनतालाई ढाँट्दैछन ।” यादवले भने, “यथास्थितिमा चुनावै हुँदैन, भए पनि त्यसले संविधान बनाउन सक्दैन ।”
राजनीतिक द्वन्द्वलाई यथावत राखेर गरिने निर्वाचनले निकास दिन नसक्ने यादवको भनाई थियो ।
