समाचारबिहीबार, बैशाख १९, २०७०
सेनामा भर्ना गरिदिने भन्दै ६ लाख लिएर फरार
शम्सेर दल गण भरतपुरमा भर्ना गरिदिने भन्दै कोहलपुर निवासी शान्ता नेपाली र आफूलाई नेपाली सेनाको मेजर बताउने एकजना पुरुषले आठजना युवाबाट रु ७५ हजारका दरले रकम लिई फरार भएका छन् ।
उनीहरु १४ वैशाख साँझ भरतपुरस्थित केन्द्रीय बस ट्रर्मिनलमा रहेको जनता होटल र गौरव गेस्ट हाउसबाट भूपिन शर्मा, अमित सिंहसहित अन्य ६ जनासँग सो रकम लिएर फरार भएका हुन् ।
नेपाली सेनामा भर्ना हुने आशमा आएका शर्मालाई शम्सेर दल गणको भर्ना छनोट समितिले यही १५ बैशाखमा नक्कली कागजपत्र भेटेपछि भर्ना छनोटमा सहभागी नगराएको गणका गणपति ज्योतिन्द्र महतले बताए ।
पैसा लिएर फरार रहेकी शान्ताका श्रीमान् ठाकुर नेपाली धादिङमा नेपाली सेनामा नै कार्यरत छन् भने आफूलाई मेजर भन्ने युवकको बारेमा भने उनी को हुन् भन्ने पुष्टि हुन सकेको छैन ।
शम्सेर दल गण भरतपुरका गणपति महतले ठगहरुको खोजी कार्य भइरहेको बताए । आफूसँग आएको फर्जी प्रवेशपत्र नेपाली सेनाको निर्देशनालयमा पठाएको उनले जानकारी दिए ।
रासस
