समाचारबिहीबार, बैशाख १९, २०७०
दुई सय बालबालिका विद्यालय भर्ना हुन पाएनन्
शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापनमा परी विभिन्न स्थानमा शिविर बनाएर बस्दै आएका विस्थापित परिवारका बालबालिका आर्थिक अभावका कारण विद्यालयसम्म पुग्न सकेका छैनन् ।
तारापुर शिविरका ३० र ढक्का शिविरका १५० भन्दा बढी ६ वर्षदेखि दश वर्ष उमेरका बालबालिकाले आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन नसक्दा अभिभावकसँगै मजदुरी गर्न बाध्य भएको अभिभावक देवसिं ऐरीले बताए ।
केही जिल्ला सदरमुकाम महेन्द्रनगरका होटेलमा बालमजदुरका रुपमा कार्यरत रहेका र केही अभिभावकसँगै मजदुरी गर्न भारततर्फ लागेको उनले बताए ।
शिविर नजिकै विद्यालय नहुनाले पनि बालबालिकालाई विद्यालयसम्म पुर्याउन नसकिएको तारापुर शिविरका नरिभान दङ्गालको भनाई छ ।
उनले भने, “बालबालिकाका लागि कापी, कलम, झोला र पोसाकको व्यवस्था गर्न नसक्दा अधिकांश अभिभावकले बालबालिकालाई विद्यालय भर्ना गर्न पाएका छैनन् ।”
विद्यालयले चन्दास्वरुप भन्दै विभिन्न शीर्षकमा शुल्क असुल्ने भएकाले बालबालिकालाई विद्यालयमा भर्ना गर्न थप समस्या भएको बताइन्छ ।
रासस

