समाचारबिहीबार, बैशाख १९, २०७०
मलेसियाका नेपालीमाथि संभावित संकट
मलेसियाको विपक्षी दलहरुको गठबन्धन ‘एनिथिङ्ग बट युएमएनओ (एबीयू)’ ले सत्तारुढ युनाइटेड मलेज नेशनल अर्गनाइजेशनमाथि आगामी निर्वाचनलाई प्रभाव पार्ने गरी ५० हजार विदेशी श्रमिकहरुलाई नागरिकता प्रदान गरेको आरोप लगाएको छ ।
नेपाल, बंगलादेश र इन्डोनेसियाका श्रमिकहरुलाई भोट हाल्न लगाएर सत्तारुढ दल आफू फेरि सत्तामा पुग्ने षडयन्त्र गरिरहेको एबीयूले दाबी गरेको छ ।
एबीयूले निर्वाचन धाँधलीरहित हुनुपर्ने भन्दै विदेशी श्रमिकहरुलाई मतदानमा सहभागी नहुन चेतावनी समेत दिएको छ । निर्वाचन क्याम्पेनका क्रममा एबीयूले त्यस्ता चेतावनी मुलक पर्चा वितरण गर्नुका साथै भिडियो पनि प्रदर्शन गरिरहेको छ ।
पर्यबेक्षकहरु मलेसियामा करिब २० लाख विदेशी श्रमिकहरु रहेको र निर्वाचनका बेला यही निहुँमा उनीहरुमाथि सांघातिक आक्रमण हुनसक्ने बताउँछन् ।
यसैबीच मलेसियाको प्रहरीले आप्रवासीहरुलाई मतदान नगर्न भन्दै यदि त्यसो गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
नेपाली श्रमिकहरुका लागि मलेसिया भारत र साउदी अरबपछि तेस्रो ठूलो रोजगारदाता हो जहाँ करिब डेढ लाख नेपालीहरु कार्यरत छन् ।
