समाचारशुक्रबार, बैशाख २०, २०७०
ब्युँझिन थाले ‘जनअदालत’ का फैसला
संखुवासभाको पाथीभरा गाबिस–६ का गोरे भनिने ज्ञानबहादुर राईलाई ८ असार ०६० मा पाथीभरा–७ का रामबहादुर राईले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटना माओवादीको ‘जनअदालत’ले मिलापत्र गराएको भए पनि मृतकका भाई कृष्णलाल राईले जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा १३ बैशाखमा किटानी जाहेरी दर्ता गरेका छन ।
प्रहरीले आरोपितलाई १९ बैशाखमा पक्राउ गरेको छ । जाहेरी पछि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका मुद्दा शाखाका प्रमुख प्रहरी नायब निरीक्षक श्याम राउतको टोलीले गाडिएको शवको उत्खनन् गरेको छ ।
प्रहरीका अनुसार गाडिएको शव उत्खनन् गरी हेर्दा टाउकामा खुकुरीको चोट भएको र कर्तव्य गरी मारिएको अनुसन्धानमा देखिएको छ ।
माओवादीले हिंसात्मक द्वन्द्वका बेला भएका घटनामा सरकारी निकायमा उजुरी नगर्न भन्दै आफै मिलापत्र गराउने गरेको थियो । तर, पछिल्लो समयमा पीडित पक्ष असन्तुष्ट भई प्रहरीमा मुद्दा दर्ता गर्न शुरु गरेका छन् ।
छेटु शेर्पा, सङ्खुवासभा
