समाचारसोमबार, बैशाख २३, २०७०
लोकमान प्रकरणमा एमाओवादी नेता पनि बोल्न चाहेनन्
पछिल्लो समयमा एमाओवादीले लोकमानसिंह कार्कीका पक्षमा पैरवी गर्दै आएको भए पनि एमाओवादीका केन्द्रीय सदस्य गिरीराजमणी पोख्रेलले लोकमानसिंह कार्कीलाई गरिएको सिफारिस बारेमा खुलेर बोल्न चाहेनन् ।
२३ बैशाखमा धनकुटामा आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले लोकमानसिंह कार्कीलाई चार राजनीतिक दलहरुको सहमतिका आधारमा परिषदले सिफारिस गरेको भन्दै थपे, “अहिले त्यसबारेमा धेरै नबोलौं ।”
२२ बैशाखमा संवैधानिक परिषदले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिको सिफारिस गरेपछि पनि परिषदका सदस्यहरु कसैले पनि सञ्चारकर्मीलाई उक्त सिफारिसबारे खुलेर बताएका थिएनन् ।
अर्को प्रसंगमा पोख्रेलले खिलाराज रेग्मीको नेतृत्वमा गठन भएको चुनावी सरकारले अहिलेसम्म पनि चुनावको मिति घोषणा गर्न नसक्नु शंकास्पद भएको बताए । उनले वर्तमान सरकारको काम यथाशिघ्र संविधान सभाको दोस्रो निर्वाचन गराउनुमात्रै रहेकोले सरकार आफ्नो जिम्मेवारी भन्दा बाहिर गएमा सरकारविरुद्ध आन्दोलन शुरु गर्ने चेतावनी पनि दिएका थिए ।
सन्तोष रुचाल, धनकुटा
