समाचारशुक्रबार, बैशाख २७, २०७०
सदभावना केन्द्रीय सदस्यसहित दर्जनौं गिरफ्तार
सुनसरीको इनरुवामा सदभावना पार्टीका केन्द्रीय सदस्य संतोष मेहता र जिल्ला उपाध्यक्ष देवराम मधेशी विगत ९ दिनदेखि आमरण अनशनमा बसिरहेका बेला उनीहरुको माग पूरा गर्नु पर्ने भन्दै २७ बैशाखमा प्रदर्शनमा उत्रिएका सद्भावना पार्टीे केन्द्रीय सदस्य योगेन्द्र राय यादव, जिल्ला अध्यक्ष देवनारायण यादव, जिल्ला सचिव सुवालाल मेहता लगायत ४ दर्जनलाई प्रहरीले गिरफ्तार गरेको सदभावना पार्टीले जनाएको छ ।
“आमरण अनशनको कार्यक्रमलाई विथोल्ने उद्देश्यका साथ हाम्रा नेता कार्यकर्ताहरुलाई सरकारको निर्देशनमा पक्राउ गरिएको छ, उनीहरुलाई तत्काल रिहा नगरिए हामी कडा कदम चाल्न बाध्य हुनेछौं,” सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले भने ।
आमरण अनशनमा बसेका पार्टी केन्द्रीय सदस्य मेहता र सुनसरी जिल्ला उपाध्यक्ष मधेशीको स्वास्थ्य अवस्था विग्रदै गईरहेको भन्दै केन्द्रीय सदस्य उपेन्द्र महतोले पार्टीका मागहरु प्रति सरकारले बेवास्ता गरिरहेकाले पार्टीले आन्दोलनका कार्यक्रमहरुलाई थप सशक्त बनाउने बताएका छन् ।
संविधान सभा निर्वाचनको मिति अविलम्ब घोषणा, निर्वाचन क्षेत्र पुनः निर्धारण, आमाको नागरिकताको आधारमा नागरिकता प्रदान, भारतीय रुपैयाँको कालाबजारी नियन्त्रण लगायतका मागहरु राखी सदभावना पार्टीका केन्द्रीय सदस्य सन्तोष मेहता विगत ९ दिनदेखि आमरण अनसनमा छन् भने सदभावना पार्टीले मुलुकका विभिन्न जिल्लाहरुमा रिले अनशन एवम् विरोध प्रदर्शन समेत शुरु गरेको छ ।

