समाचारशनिबार, बैशाख २८, २०७०
कार्कीको नियुक्तिमा विदेशी चलखेलः एमाले
२८ बैशाखमा एमाले केन्द्रीय कमिटिको निर्णय सार्वजनिक गर्दै नेकपा एमालेले एकीकृत माओवादी र मधेशी मोर्चाले मनपरी गर्न खोजेको भन्दै उच्चस्तरीय राजनीतिक समितिको कार्यविधि र औचित्यमाथि प्रश्न उठाएको छ ।
केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको सिफारिस सच्याउन आग्रह गरेपनि बेवास्ता गरिएको भन्दै यसले उच्चस्तरीय राजनीतिक समितिको औचित्यमा प्रश्न उठेको बताए ।
कार्कीको नियुक्तिले लोकतन्त्र र परिवर्तनका पक्षधर नेपाली नागरिकको मनमा गहिरो ठेस लागेको भन्दै शुरुमै एमाले नेतृत्वले गल्ति गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले संविधान सभा विघटनदेखि लोकमान प्रकरणसम्म बाह्य चलखेल भएको पनि दाबी गरेको छ ।
यस्तो चलखेललाई चिर्न नसकेको र चिन्न समेत नसकेको भन्दै केन्द्रीय समितिले आत्मसमीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
एमालेले एमाओवादी बाहेकका लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर दुईतिहाई बहुमत ल्याउने योजनाका साथ चुनावमा जाने निर्णय पनि गरेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालले आवश्यकता अनुसार विभिन्न पार्टीसँग चुनावमा सहकार्य गरे पनि एमाओवादीसँग सहकार्य नहुने बताए ।
नेकपा—माओवादीको हिंसाको बाटो र चुनाव विथोल्ने प्रयास गलत भएको नेकपा एमालेको ठहर छ ।
चुनावमा भाग नलिने भनिरहेका दलहरुको बारेमा अन्तिम रुपमा बोल्ने समय नआएको भन्दै चुनावमा ल्याउनका लागि सक्दो प्रयास गर्ने अध्यक्ष खनालको भनाई छ ।
सरकारले चुनावको वातावरण बनाउने भन्दा पनि विवादास्पद नियुक्तिमा अल्झिँदै गएकाले चुनावप्रति आशङ्कालाई अझ बढाउने काम गरेको भन्दै एमालेले आलोचना गरेको छ ।
