समाचारशनिबार, बैशाख २८, २०७०
जनजाति महासंघको महाधिवेशन शुरु
चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा २८ बैशाखमा जनजाति आन्दोलनका सहिद धनबहादुर थनेतका छोरा तोवबहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले महाधिवेशन उदघाटन गरेका हुन । आदिवासी जनजातिको मुद्दामा राजनीतिक दलहरुले भ्रम फैलाएको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोईराला, एमाले अध्यक्ष झलनाथ खनाल र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई प्रवेश निषेध गरिएको महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिए ।
कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले जातीय पहिचान सहितको संघीयताको एजेण्डामा दलहरूबीच सहमति नभएर संविधानसभा विघटन भएको बताए । उनले संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न आदिवासी जनजातीको नेतृत्व आवश्यक रहेको औंल्याए ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङले संघियता विरोधी र आदिवासी जनजाति विरोधीका कारणले संविधान बनाउने काम सफल नभएको दाबी गरे । नेपाली काँग्रेस नेता इन्द्रबहादुर गुरुङ, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नेकपा–माओवादीका सुरेश आले मगरलगायतले मन्तब्य राखेका थिए ।
महाधिवेशन पहिलो पटक राजधानी बाहिर आयोजना गरिएको हो । महाधिवेशनको उद्घाटन सत्रमा ७१ जिल्लाका आदिवासी जनजातिहरु सहभागी भएका थिए । महासंघको बन्द सत्र पर्यटकीय क्षेत्र सौराहामा २९ र ३० बैशाखमा हुने आयोजकले जानकारी दिएको छ ।
महाधिवेशनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, पाँच सचिव, महासचिव र कोषाध्यक्ष रहेको १३ सदस्यीय सचिवालय चयन गर्नेछ ।
सविता श्रेष्ठ, चितवन

