समाचारसोमबार, बैशाख ३०, २०७०
उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै
लामो समयपछि ३० बैशाख साँझ बस्न लागेको चार दल सम्मिलित राजनीतिक समितिको बैठकमा निर्वाचन ऐनका विवादित विषय र नेकपा–माओवादी सहितका साना दलहरुले गरिरहेको आन्दोलन, उनीहरुसँगको वार्ता, संविधानसभा चुनावको मितिका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
काङग्रेस सभापति तथा समितिका संयोजक सुशील कोइरालाले बोलाएको बैठकमा कांग्रेसले यसअघि पार्टीले राख्दै आएको थ्रेसहोल्ड, उम्मेद्वारको योग्यता लगायतका विषयमा आफ्नो अडान कायम राख्ने बताएको छ ।
नेकपा एमालेले पनि निर्वाचन ऐनका विषयमा निर्वाचन आायोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान राखेको छ ।
त्यस्तै यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिएका नियुक्ति खारेजका विषयमा पनि बैठकमा एमालेले प्रस्ताव राख्ने नेताहरुले बताएका छन् ।
दलहरुबीच निर्वाचन ऐनमा राखिएको प्रावधान, निर्वाचनको मिति घोषणा तत्काल वा पछि भन्नेमा पनि विवाद रहेको छ ।
उच्चस्तरीय राजनीतिक समितिले गरेको निर्णयका आधारमा सरकारसँग छलफल गर्ने दलहरुले बताएका छन् ।
समितिको प्रस्ताव र संवैधानिक परिषदको सिफारिसमा लोकमानसिंह कार्कीलाई राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरेपछि समिति पनि विवादित बन्न पुगेको छ ।

