समाचारसोमबार, बैशाख ३०, २०७०
नेकपा–माओवादीलाई वार्तामा आउन सरकारको अपील
३० बैशाख साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववत अडान र शर्त त्यागेर वार्ता र संवादको माध्यमबाट समस्याको समाधानका लागि नेकपा–माओवादी लगायतका दलहरुलाई आग्रह गरेको छ ।
बैठकले निर्वाचन नै समस्याको समाधान भएकाले वार्ता र संवादबाट सहमति कायम गरेर आसन्न निर्वाचनलाई सफल बनाउने वातावरण बनाउन समेत आग्रह गरेको छ । माओवादीले सरकारसँग वार्ताका लागि २५ बुँदे बाधा अड्का फुकाउ आदेश र नागरिकता विधेयक खारेज गर्नुका साथै अख्तियार प्रमुखको नियुक्ति बदर गर्न माग गर्दै आएको छ ।
बैठकपछि सरकारले अपील जारी गर्दै वार्ता र छलफलअघि पूर्वशर्त नराख्न भनेको छ । “कुनै पनि समस्या र विषयमा सम्वाद, छलफल र परामर्श गर्न नै पूर्वशर्त राख्ने र त्यस्ता शर्त पूरा नभई सहभागी नहुने शर्त नराख्न नेकपा-माओवादीजस्तो जिम्मेवार दललाई नेपाल सरकार हार्दिक अपील गर्दछ,” अपीलमा उल्लेख छ ।
सरकार गठन प्रक्रियाको विरोध गर्दै नेकपा–माअोवादीको नेतृत्वमा विभिन्न ३३ दल आन्दोलनमा छन् ।
