समाचारमंगलबार, बैशाख ३१, २०७०
द्वन्द्वकालमा जागिर छोड्ने सेना-प्रहरीको छुट्टै पार्टी
३१ बैशाखमा रिपोर्टर्स क्लबमा आयोजित पार्टी घोषणा सभामा जागिर छोडेका प्रहरी तथा सेनाका जवानले नेपाल राष्ट्र सेवा दल दर्ता गराउने संयोजक सूर्यबहादुर घिमिरेले बताएका छन् ।
पाँच वर्षसम्मको सङ्घर्षपछि पनि आफूहरुलाई पुनःबहाली गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै अन्ततः राजनीतिक दल खोलेर देशमा राजनीति गर्ने निर्णय गरेको घिमिरेले बताए । उनले राजनीतिक दलहरुले आफूहरुलाई पुनःवहाली गर्ने आश्वासन मात्र दिएर ढाँट्ने काम गरेकाले बाध्य भएर नयाँ राजनीतिक दल खोलेको जानकारी दिए ।
सशस्त्र द्वन्द्वका क्रममा सेना र प्रहरीका ४६ हजार ४९० राष्ट्र सेवकले जागिर गुमाएको र उनीहरुको आश्रित परिवार सङ्ख्या पाँच लाख ६० हजारभन्दा बढी रहेको जानकारीले बताए ।
२०६३ देखि पूर्व सेना र प्रहरीले पुनःवहालीको माग राखी आन्दोलन गर्दै आएकामा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले आफ्नो भान्जी अम्बिका खरेलसहित आफन्तलाई मात्र पुनःबहाली गरेको पूर्व प्रहरी नायब महानिरीक्षक प्रेमबहादुर विष्टले दाबी गरे ।
रासस
