समाचारमंगलबार, बैशाख ३१, २०७०
थ्रेस होल्डको प्रावधान नराख्न साना दलको आग्रह
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग ३१ बैशाखमा भएको छलफलमा साना दलका नेताहरुले दल दर्ता गराउँदा १० हजार जनाको हस्ताक्षर बुझाउनु पर्ने प्रावधान र थ्रेस होल्डको व्यवस्था नराख्न माग गरेका हुन् ।
साना दलको मागका बारेमा अध्ययन र विश्लेषण गरेर निर्णय गरिने मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले आश्वासन दिएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताए ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफलमा नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चामा सहभागि केही दलसहितका २९ दलका प्रतिनिधिहरुको सहभागिता थियो ।
संविधानसभा सदस्य निर्वाचन ऐनको विवादित विषयमा सबै दलहरुसँग छलफल गरेर निर्णयमा पुग्नका लागि अध्यक्ष रेग्मीले दलहरुसँगको छलफल गरिरहेका छन् ।
यसअघि अध्यक्ष रेग्मीले आजै बिहान नेकपा एमालेका नेताहरुसँग र ३० बैशाखमा नेपाली कांग्रेससँग छलफल गरेका थिए । कांग्रेस र एमालेले थ्रेसहोल्ड राख्नु पर्ने बताउँदै आएका छन् ।
