समाचारबिहीबार, जेठ २, २०७०
सदभावनाको अनशन चौथो दिन पनि जारी

सिरहामा अनशनमा बसेका पार्टीका नेताहरुको अवस्थाबारे जानकारी लिन सदभावना अध्यक्ष राजेन्द्र महतो (दायाँ)
३० बैशाखदेखि २४ वटा जिल्लामा आमरण अनशन शुरु गरेका सदभावना पार्टीका नेता कार्यकर्ताहरुको अनशन चौथो दिन २ जेठमा पनि जारी नै छ ।
निर्वाचन मिति घोषणा, नागरिकता वितरण, समावेशी विधेयकलगायतका १० बुँदे माग राखेर आमरण बसेका नेता कार्यकर्ताहरुले आफ्ना माग पूरा नभएसम्म अनशन नछोड्ने सर्लाहीमा अनशनमा बसिरहेका सदभावना पार्टी केन्द्रीय सदस्य उपेन्द्र महतोेले बताए ।
“संभवतः यती धेरै जिल्लामा र यत्रो संख्यामा अनशनमा बसेको यो नेपालमा पहिलो पटक हो, हाम्रा जायज मागहरु सम्बोधन गरिएन भने त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेदारी वर्तमान सरकारले नै लिनुपर्ने छ,” महतोले हिमालखबरलाई बताए ।
चारदिनसम्म लगातार अनशनमा बसिरहेका कतिपय नेता कार्यकर्ताहरुको स्वास्थ्यस्थिति विग्रंदै गएको पनि उनले जानकारी दिए ।
