थप समाचारशनिबार, जेठ ४, २०७०
इन्टरनेटमा नेपाली पुस्तक पसल
साहित्य क्षेत्रका १६ जना नेपालीको प्रयासमा पाण्डुलिपि बुक्स प्रालिले शुरू गरेको ई–बुक इन्टरनेटमा ५० वटा साहित्यिक पुस्तक राखिएका छन् । नेपाली पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र प्रविधिको विकाससँगै इन्टरनेटमा पुस्तक पढ्ने बानी बसाउन सात महीनाअघि ई–बुक शुरू गरिएको हो । जस अनुसार पाठकले शुल्क तिरेर www.pandulipibooks.com र www.ebooks.com.np लग इन गरी पुस्तक पढ्न सक्ने छन् ।
यसबाट विदेशमा बस्ने नेपालीलाई सजिलो भएको पाण्डुलिपि बुक्सका अध्यक्ष करुण थापाको भनाइ छ । थापा भन्छन्, “नेपालमा बस्नेले बजारमा पुस्तक किनेर पढ्न सक्छन् तर विदेशमा बस्ने नेपालीका लागि ई–बुकले सजिलो बनाएको छ ।” “अहिले नै ई–बुकको व्यापार राम्रो छैन, तर ढिलोचाँडो इन्टरनेटमा किताब पढ्ने प्रचलन बढ्छ, त्यसैले ई–बुकको भविष्य राम्रो छ”, थापाले भने । अहिले पनि उपन्यास र निबन्धको बिक्री सन्तोषजनक रहेको उनले बताए ।
पुस्तक विस्तारै थप्दै जाने बताउँदै थापाले भने “१५० वटा किताबका लागि सम्झैता गरिसकेका छौं, अरू लेखक र प्रकाशकसँग पनि कुरा भइरहेको छ ।” यो वेबसाइटमा बालबालिकाका लागि उपयोगी पुस्तक, धार्मिक ग्रन्थ, अनुसन्धानात्मक कृति तथा प्रतिवेदन र शब्दकोश राख्ने तयारी भइरहेको थापाले जानकारी दिए ।
कम्प्युटर र ल्यापटपमा मात्र पढ्न मिल्ने यस्ता किताबहरू छिट्टै एन्ड्रोइड, आइफोन र ट्याब्लेटमा पनि पढ्न मिल्ने गरी बनाउने पाण्डुलिपिको तयारी छ । विदेशमा बस्ने नेपालीलाई लक्षित गरेर शुरू गरिएको ई–बुकको मूल्य पुस्तकको भन्दा झ्ण्डै दोब्बर छ ।
ई–बुक शुरू भएपछि लेखक र प्रकाशकलाई पनि सजिलो भएको छ । आफ्नो किताब विदेशमा बसेकाले पनि हेर्न पाउने भएपछि पाठक बढ्ने र आम्दानी पनि बढ्ने लेखक ब्रजेश खनाल बताउँछन् । प्रकाशक फाइन प्रिन्टका अजित बरालको भनाइमा ई–बुकले लेखकलाई नयाँ पाठक र प्रकाशकलाई नयाँ ग्राहक दिएको छ । ई–बुकमा लेखक र प्रकाशकलाई गरी ५० प्रतिशत कमिसन दिने गरेको पाण्डुलिपि बुक्सले जनाएको छ ।
ई–बुक शुरू भएसँगै कतिपय कठिनाइ देखिएका छन् । इन्टरनेटमा पुस्तक किन्न धेरै नेपाली अभ्यस्त भइसकेका छैनन् । एकजनाले किनेको किताब कपी गरेर धेरैतिर वितरण गर्न सक्ने संभावना छ । तर ई–बुकलाई त्यसरी चोरी गर्न नमिल्ने बनाइएको पाण्डुलिपि बुक्सका अध्यक्ष थापा बताउँछन् । कपी गर्न र स्क्रिन सर्ट गर्न नमिल्ने बनाएका छौं, त्यसैले चोरीको डर छैन ।
विनोद ढकाल
