समाचारआइतबार, जेठ ५, २०७०
रेग्मी सरकारले गराउने निर्वाचनमा सहभागी हुँदैनौं: थापा
५ जेठमा पर्सामा आयोजित पत्रकार सम्मेलनमा माओवादी महासचिव रामबहादुर थापाले २५ बुँदे अध्यादेश खारेज हुनुपर्ने, चार दलीय संयन्त्र भङ्ग हुनुपर्ने र गोलमेच सम्मेलनमार्फत राजनीतिक दलहरुको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने आफूहरुको मुख्य माग रहेको बताएका छन् ।
आफूहरु वार्ता र निर्वाचनको विरोधी नभएको दाबी गर्दै थापाले राजनीतिक दलहरुको सरकारको नेतृत्वले गर्ने चुनावमा मात्रै भाग लिने प्रष्ट पारे ।
गोलमेच सम्मेलनमार्फत संविधान निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्दै माओवादी महासचिव थापाले गोलमेच सम्मेलन माओवादीको अन्तिम विकल्प भएको र माग पूरा नभए सशक्त सडक संघर्ष गर्ने चेतावनी समेत दिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति पृथकीकरणलाई बेवास्ता गर्दै बहालवाला प्रधानन्यायाधीशलाई सरकारको जिम्मेवारी दिएर आफनो स्वार्थ सिद्ध गर्न लागेको थापाको आरोप छ ।
थापाले भारतको योजना र दबाबमा लोकमान सिंह कार्कीलाई चार दलले अख्तियार प्रमुख बनाएको दाबी गरे । भारतले दिएको दबाब राष्ट्रपति डाक्टर रामवरण यादवले पनि थेग्न नसकेको भन्दै थापाले राष्ट्रपतिको पनि आलोचना गरेका थिए ।
अली असगर, वीरगञ्ज
