थप समाचारआइतबार, जेठ ५, २०७०

धौलागिरि आरोहणका ५३ वर्ष

हिमालखबर

१३ मे सन् १९६० मा नेपाली निमा दोर्जे र नवाँ दोर्जेको सहयोगमा कुर्ट डिम्बर्गर, पिटर डायन, अर्नेस्ट फोरर, एल्बम सेबर्टले ८,१६७ मिटर अग्लो धौलागिरि हिमालको पहिलो सफल आरोहण गरेको ५३ वर्ष पुगेको छ ।

संसारको सातौं र नेपालको चौथो अग्लो यो हिमालको चुचुरोमा मान्छे पुगेको ५३औं वर्षगाँठलाई धौलट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल क्षेत्रीय संघ, पोखराको संयोजनमा र स्थानीय संघसंस्था र निकायको सहयोगमा म्याग्दीको सदरमुकाम बेनीमा मनाइयो ।

‘सिंगो देश रमणीय बनाऔं, पर्यटकीय सम्पदाको पहिचान गरौं’ भन्ने नारासाथ मनाइएको त्यो दिवसमा ८ पटक यो हिमाल चढेका सोलुखुम्बुका ६७ वर्षीय आङरिता शेर्पालाई रु.१५ हजारको चेक, दोसल्ला, सम्मानपत्र र फूलमालाले सम्मान गरिएको थियो ।

सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जगको नेतृत्वको टोलीले जस्तै सन् १९५३ देखि १९५९ सम्मका अरू ६ टोलीको यो हिमाल चढ्ने प्रयास असफल भएको थियो । १३ मे सन् १९६० को सफलतापछि यो हिमालको चुचुरोमा ४३३ जनाको पाइला पुगेको छ ।

वेनी र पश्चिम म्याग्दीका दर्जनौं गाउँ हुँदै आधार शिविर पुगेका हजारौं पर्यटकहरूबाट स्थानीय बासिन्दाहरू फाइदा लिन नसकेको विषय सधैं जस्तै त्यो अवसरमा पनि उठेको थियो ।

पर्यटकका लागि पर्याप्त होटल बन्न नसकेको, क्याम्पिङ साइटहरू पहिचान हुन नसकेको र भीरका असजिला बाटा मर्मत नभएकाले पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या घटेको पनि त्यहाँ बताइयो ।

बढ्दो तापक्रम र जलवायु परिवर्तनले यो हिमालको हिमस्खलन भएर उचाइसमेत घटेको हुनसक्ने चिन्ता गरिएको त्यो कार्यक्रममा जलवायु विज्ञ सुकदेव भट्टले पूर्वी र दक्षिणी मोहडामा हिमस्खलन भएर आधार शिविरको भू–भाग कमजोर बनेको र हिमनदीमा पानीको सतह आश्चर्यजनक रूपमा घटबढ भएको बताए ।

यो हिमालको चुचुरोमा मानव पाइला पुगेको ५० वर्षको अवसरमा २०६७ मा धौलागिरि पर्यटन विकास परिषद्ले ‘यती खोज्न धौलागिरि जाऊँ’ भन्ने नारासहित आधार शिविरसम्म पदयात्रा गरेको थियो । त्यसअघि सन् २००३ मा जापानी नागरिक योशितेरु ताकाहाशीले ६ हप्ता त्यहाँ बिताउँदै यतीको पाइला फेला पारेको दाबी गरेका थिए ।

२०६७ मा सरकारले धवलागिरि हिमालको फोटो अंकित टिकट पनि प्रकाशन गरेको थियो । तर, ती कुनै कामले यो क्षेत्रमा पर्यटनको विकास नभएको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।

ध्रुवसागर शर्मा

हिमालको ५-१२ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>