समाचारबुधबार, जेठ ८, २०७०
पूर्व सभासद हक हत्या प्रकरण (अपडेट)
६ जेठ राति हत्या भएका पूर्व सभासद सदरुल हकको हत्याका बारेमा छानविनका लागि ८ जेठ बिहान डिआइजी दिनकर शम्शेर राणाको संयोजकत्वमा पूर्वाञ्चल प्रहरी प्रमुख र अनुसन्धान कार्यालयका पूर्वाञ्चल प्रमुख सदस्य रहेको टोली कल्याणपुर २ बिसनपुर पुगेर अनुसन्धान शुरु भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिए ।
हत्या गरिएका पूर्व सभासद् हकको शव पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भइसकेको र आजै दिउँसो रिपोर्ट आइपुग्ने मधेशी जनअधिकार फोरम नेपालका क्षेत्रीय अध्यक्ष ऐयुव राइनले बताए ।
राजमार्ग बन्द, प्रदर्शन जारी
हत्याको विरोधमा मृतकका आफन्त र स्थानीय वासिन्दाले ७ जेठ विहानदेखि गराएको पूर्वपश्चिम राजमार्ग बन्द अझै पनि खुल्न सकेको छैन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बिभिन्न ठाउँमा रुखहरु ढालेर प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन् । लगातार २४ घण्टाको राजमार्ग अवरुद्धले एक हजारभन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।
प्रदर्शनकारीले सदरमुकाम राजविराजको बिभिन्न ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । उनीहरुले ८, जेठमा राजविराज बजार पूर्ण रुपमा बन्द गराएका छन् भने यहाँ कुनै सवारीसाधन चल्न सकेका छैनन् ।
हत्या छानबिनका लागि धरानबाट ल्याइएको प्रहरीको तालिम प्राप्त कुकुर बाटो सुँघ्दै ७, जेठमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा गएर बसेपछि स्थानीयहरुले प्रहरीमाथि नै शंका गर्दै छानबिनको माग गरेका छन् । सोही कुकुरले ७, जेठमा हत्यास्थलदेखि तीन सय मिटर उत्तरमा रगतले लतपतिएको एउटा शर्ट, डायरी र चप्पल फेला पारेको थियो ।
पूर्व सभासद् हकको सोमबार राति कल्याणपुर २ स्थित उनको आफ्नै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
अहिलेसम्म हत्याको कारण र हत्याराको पहिचान हुन नसकेकोे जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले बताए ।
प्रदर्शनकारीले हत्यारालाई पक्राउ गरी कार्वाही नगरिएसम्म चक्काजाम लगायतका बिरोध कार्यक्रम नरोक्ने बताएका छन् ।
श्रवणकुमार देव, सप्तरी

