थप समाचारबुधबार, जेठ ८, २०७०
चिनियाँ प्रधानमन्त्री पाकिस्तानमा
तीन दिने भारत भ्रमण सकेर ८ जेठमा इस्लामावाद पुगेका चीनका प्रधानमन्त्री ली केकियाङ्ले दुई दिनसम्म पाकिस्तानमा रहँदा हालैको निर्वाचनमा बहुमत प्राप्त गरी आगामी प्रधानमन्त्रीको पालोमा रहेका पाकिस्तानका वरिष्ठ राजनीतिज्ञ नवाज शरिफ, राष्ट्रपति असिफ अलि जरदारी र कामचलाउ प्रधानमन्त्री हजार खान खोसोसँग भेट गर्नेछन् ।
सामान्यतया निर्वाचनपछि नयाँ सरकारले सत्ता नसम्हालिसकेको अन्तरिम समयमा विदेशी नेताहरुले औपचारिक भ्रमण गर्ने प्रचलन नरहे पनि पाकिस्तान र चीनबीचको घनिष्टताका कारण ली पाकिस्तानको भ्रमणमा गएका हुन् ।
चीन र पाकिस्तान दुई व्यापारिक साझेदार राष्ट्र हुन् । पछिल्लो एक तथ्याङ्कअनुसार गत एक वर्षमा पाकिस्तान र चीनको ब्यापार १२ अर्ब अमेरिकी डलर बराबरको छ भने आगामी वर्ष यो कारोबार १५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
यी दुई देशले आपसमा व्यापारका विभिन्न क्षेत्रमा सहकार्य एवम् लगानी पनि गर्दै आएका छन् । त्यस्तै चीन पाकिस्तानका लागि मुख्य हतियार आपूर्तिकर्ता देश पनि हो भने पाकिस्तानसँग चीनको रणनीतिक चासो पनि उत्तिकै छ ।
आगामी प्रधानमन्त्रीको पालोमा रहेका नेता शरिफसँग चिनियाँ प्रधानमन्त्री लीले विशेषगरी व्यापारिक क्षेत्रका विभिन्न विषयमा वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसअघि भारतको भ्रमणमा रहँदा प्रधानमन्त्री लीले व्यापारिक सम्झौताका साथै यस क्षेत्रमा दुई देशको साझा मुद्दामा पनि कुराकानी गरेका थिए ।
चिनियाँ प्रधानमन्त्री लीले चिनियाँ व्यापारिक संस्थालाई भारतमा लगानी गर्न सहयोग गर्ने तथा भारतलाई चिनियाँ बजारमा आफ्नो उत्पादनका लागि पहुँच प्राप्त गर्न सघाउने बताएका थिए ।
भारत र चीनबीच ६७.८ अर्ब डलर बराबरको ब्यापार रहेकोमा भारतलाई करिब ३० अर्ब अमेरिकी डलर बराबर ब्यापार घाटा छ ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग दुई चरणसम्म वार्ता गरेपछि चिनियाँ समकक्षी लीले भारतसँग हाल कायम समस्या समाधान गर्न चीन गम्भीर हुने बताएका छन् ।
एजेन्सीको सहयोगमा
