समाचारबुधबार, जेठ ८, २०७०
पूर्व सभासद् हकको शवयात्रा, बन्द जारी
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षणपछि आज दिउँसो सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न ठाउँमा पूर्व सभासद सदरुल हकको शवयात्रा गरिएको हो ।
शवयात्रामा हत्या गरिएका पूर्व सभासद् हकका हजारौं समर्थकको सहभागिता थियो ।
राजविराजपछि मलेठ, रायपुर, शम्भुनाथ, मोहनपुर गाविस हुँदै शवलाई उनकै घर रहेको कल्याणपुर–२ पुर्याइएको छ । शवयात्रा सम्पन्न भएपनि हत्यारा पत्ता नलागेसम्म अथवा गृहमन्त्री आएर प्रतिबद्धता नजनाएसम्म अन्तिम संस्कार नगरिने उनका समर्थकहरूले बताएका छन् ।
हत्याको विरोधमा ७ जेठ विहानदेखि गरिएको सप्तरी बन्द कायमै छ भने राजमार्ग पनि बन्द हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
पूर्व सभासद् हकको ६ जेठ राति कल्याणपुर–२ स्थित उनकै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

