थप समाचारबिहीबार, जेठ ९, २०७०
हत्याराको नजिक पुगेको प्रहरीको दाबी
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंहले अनुसन्धानका क्रममा प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्र्ण सुराक हात पारेको भन्दै दुई÷तीन दिनभित्रै हत्यारा नियन्त्रणमा आउने बताएका छन् ।
हत्या घटनाको छानबिन गर्न सरकारद्वारा गठित छानबिन समितिले ८ जेठदेखि काम शुरु गरेपनि प्रगतिबारे भने कुनै जानकारी दिएको छैन ।
यता हत्याको विरोधमा दुई दिनदेखि गरिएको बन्दका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी र सिरहाका विभिन्न स्थानमा रोकिएका सयौँ सवारी साधनलाई गएराति प्रहरीले गन्तव्यतर्फ पठाएको छ ।
हत्याको विरोधमा गठित सङ्घर्ष समिति र स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार राति २ बजेदेखि बिहान ५ बजेसम्म दुई दिनदेखि रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको हो ।
सप्तरीको कल्याणपुरदेखि सिरहाको जिरो माइलसम्म सडकमा अलपत्र परेका सम्पूर्ण सवारी साधन र हजारौं यात्रुहरु आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइए पनि यहाँको बजार, कलकारखाना, शिक्षण संस्था, यातायात बन्द रहेका छन् । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
हत्या गरिएका पूर्व सभासद्् हकलाई सहिद घोषणा, गृहमन्त्री घटनास्थलमा उपस्थित भई हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता, पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गर्नुपर्नेलगायतका नौबुँदे माग अघि सार्दै स्थानीय जनता र मृतकका आफन्तले आन्दोलन जारी राखेका छन् ।
त्यसैगरी हत्याको विरोधमा मुस्लिम संघर्ष समितिले मोरङ र सुनसरीमा पनि बन्द गराएको छ ।
कल्याणपुर गाविस–२ विसनपुर निवासी हकको सोमबार राति घरदेखि पाँच सय मिटर पश्चिम राजमार्गमा रहेको खोजपुर गाविस–७ स्थित उनकै हुमा आयल टेड्रर्समा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
पेट्रोल पम्प, सःमिल, इँटाभट्टालगायतका विभिन्न उद्योग सञ्चालन गर्दै आएका पूर्व सभासद् हक २०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं ५ बाट स्वतन्त्र सभासद्का रुपमा निर्वाचित भएका थिए ।
