थप समाचारशुक्रबार, जेठ १०, २०७०
जेलमा जन्मेको छोरोले स्वतन्त्रता दियो
उनी काटेको भिंडी कराहीमा खन्याउँछिन् । जीवनका ६० वर्ष विताइसकेकी विजय कुमारीका आँखा चुल्होबाट पुत्ताएको धुवाँले भिजेका छन् । तर, धुवाँको कुनै परवाह छैन उनलाई, खाना बनाउन मग्न छिन् ।
यदि यो खाना उनको छोरा कन्हैका लागि नहुँदो हो त विजय कुमारी अहिले लखनउको महिला जेलको भान्सामा खाना बनाइरहेकी हुन्थिन् । जहाँ उनलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिए पनि गरिबीले गर्दा जिवनका १९ वर्ष जेलमै विताउनु परेको थियो ।
पाँच महिनाको गर्भ
आफ्नो हाल सुनाउँदै विजय कुमारी भन्छिन, “म अनपढ महिला हुँ । मलाई थाहा छैन म कहिले जेल परें, यस्तै २० वर्ष जती पूरानो कुरा हो ।
विजय कुमारी अहिले कानपुरको पुनर्वास केन्द्रको साहरामा बसेकी छन् । पुनर्वास केन्द्रका अध्यक्ष एच रहमानका अनुसार ८० को दशकमा विजय कुमारी आफ्नो परिवारसँग भारत उत्तर प्रदेशको अलिगढमा बस्थिन् ।
उपलब्ध दस्तावेजहरु अनुसार उनीमाथि आफ्ना छिमेकीको साढे दुई वर्षको बच्चालाई हत्या गरेको आरोप लागेको थियो । यो घटना १७ अक्टोबर १९८९ को हो । अलिगढको तल्लो अदालतमा करिब पाँच वर्षसम्मको सुनुवाइपछि अदालत उनलाई दोषि ठहर गर्दै लखनउ जेल चलान ग¥यो । जेल जाँदा विजय कुमारी पाँच महिनाकी गर्भवती थिइन् ।
धरौटी रकम
उनका पति कान्तिप्रसादले इलाहबाद हाइ कोर्टबाट विजय कुमारीलाई धरौटीमा रिहा गर्ने आदेश त लिए तर अदालतमा जम्मा गर्नका लागि पैसाको बन्दोबस्त गर्न सकेनन् ।
धेरै जसो गुमसुम रहने विजय कुमारी उनका पति र परिवारले उनका लागि धरौटी रकमको जाहो गर्न नसकेको बारे सोध्दा नरमाइलो मान्दै भन्छिन्, “मेरा पतिले अदालतमा धरौटी जम्मा गर्नका लागि आफू निकै गरीब भएको बताएका थिए । जसै जसै दिन वित्दै गए परिवार अघि बढ्दै गयो र मलाई सबैले बिर्सिए ।”
यसैबीच विजय कुमारीले जेलमा एक छोरालाई जन्म दिइन् ।
उनी भन्छिन, “ठूलो छोराको कुकुरले टोकेर मृत्यु भयो । लोग्नेले अर्को विवाह गरे । छोरीको पनि विवाह भयो । मलाई कसैले सम्झेन ।”
विजयले आफ्नो छोराको नाम कन्हैया राखिन् । हिन्दु मान्यताका अनुसार भगवान कृष्णको जन्म पनि जेलमा भएको थियो । तर, विजय कुमारी उनको छोरा जेलमै हुर्केओस भन्ने चाहँदैनथिन् ।
पुनर्वास केन्द्रमा शरण
कन्हैया चार वर्षको भएपछि उनले छोरालाई लखनउको बाल सुधार गृहमा पठाइन् । उनलाई आशा थियो, छोरा ठूलो भएर आफूलाई जेलबाट बाहिर ल्याउनेछ ।
कन्हैया जुलाई २०१२ मा १८ वर्षको भएपछि नियमअनुसार उसलाई बाल सुधार गृह छोड्नु पर्ने भयो ।
त्यसपछि कन्हैया कानपुरमा किशोरहरुका लागि सञ्चालित उत्तर प्रदेश रक्षा एवम् पुनर्वास केन्द्रको शरणमा गए ।
यो केन्द्रमा सिलाई कटाईको सिप सिकेपछि कन्हैयाले कानपुरमै कारखाना खोले । यो अक्टोबर २०१२ को कुरा हो ।
पुनर्वास केन्द्रका अध्यक्ष रहमान भन्छन्, “आफ्नी आमाको मुक्तिका लागि पैसा कमाउन उसले कडा मेहनत गर्न थाल्यो ।” अर्कोतिर अरविन्द कुमार सिंह नाम गरेका वकिलले जेलका अन्य कैदीहरुको जमानत दिलाउनमा मद्दत गरेको विजयकुमारीले चाल पाइन् ।
उनले कन्हैयालाई सिंहको मद्दत लिन सल्लाह पनि दिइन् ।
जमानत र रिहाइ
आफ्नो उमेर भन्दा सानो देखिने कन्हैया केही तोते बोलीमा भन्छन, “उनलाई भेट्न म कतिपटक इलाहबाद गएँ, उनले मद्दतको भरोषा पनि दिए । मैले जुन पैसा कमाएर राखेको थिएँ त्यो सबै इलाहबाद जान आउनमै सकियो ।”
अन्ततः ४ मे २०१३ मा इलाहबाद हाइ कोर्टले विजय कुमारीलाई धरौटी रकम राख्नु नपर्ने गरी जेलबाट रिहा गर्ने आदेश दियो ।
पुनर्वास केन्द्रका उपाध्यक्ष बीबीएल श्रीवास्तवका अनुसार अदालतले उत्तर प्रदेश सरकारसँग विजय कुमारीलाई क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।
विजय कुमारी र कन्हैयाले कानपुरमै बस्ने निधो गरेका छन् । उनीहरु पुनर्वास केन्द्रमा लामो समयसम्म बस्न पाउँदैनन् । कन्हैयाले एउटा भाडाको कोठाको बन्दोवस्त पनि गरिसकेका छन् ।
कन्हैया भन्छन, “मैले कानपुरमा बस्ने तय गरेको छु, यहाँ मैले अरु काम पनि खोज्न सक्छु ।”
जिन्दगीको आशाका बारेमा विजय कुमारी भन्छिन, “कन्हैयाले इज्जतको जिन्दगी बाँचेको हेर्ने चाहना छ, उसका पिताले भलै उसलाई छोडिदिए तर उसले पारिवारिक सम्पत्तिबाट आफ्नो अंश पाओस भन्ने लाग्छ ।”
-रोहित घोष


