समाचारशुक्रबार, जेठ १०, २०७०
राजनीतिक समितिले अध्यक्ष रेग्मीसँग छलफल गर्ने
चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको १० जेठमा बसेको बैठकले निर्वाचनसम्बन्धी ऐन–कानून सम्बन्धमा सरकारले गरेको तयारी र विभिन्न दलहरुसँग सरकारले गरेको छलफलका बारेमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग बुझ्ने निर्णय गरेको छ ।
१२ जेठ विहान मन्त्रिपरिषद अध्यक्षसँगको छलफलपछि साँझ पुनः समितिको बैठक बस्ने निर्णय भएको एमाले नेता रघु पन्तले बताए ।
निर्वाचन सम्बन्धी कानूनका बारेमा समितिमा संलग्न दलहरुबीच मै मतभेद छ । नेपाली कांग्रेस र नेकपा एमाले समानुपातिक तर्फ प्रतिनिधित्व गर्न न्युनतम एक प्रतिशत मत ल्याउनु पर्ने (थ्रेसहोल्ड) को ब्यवस्था र सदस्य संख्या ४९१ बाट बढाउन नहुने अडानमा छन् भने एमाओवादी र मधेशी मोर्चा थ्रेस होल्ड राख्न नहुने र सदस्य संख्या पनि पहिलेको संविधान सभाको जत्ति नै राख्नु पर्ने बताउँदै आएका छन् ।
त्यस्तै अदालतमा मुद्दा चलिरहेकाहरुलाई पनि उम्मेदवार बन्न दिने वा नदिने भन्ने विषयमा पनि दलहरुबीच सहमति हुन सकेको छैन ।
अनशन फिर्ता लिन अपील
समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शुरु गरेको आमरण अनशन फिर्ता लिन अपील गरेका छन् ।
दलहरु निर्वाचनको मिति घोषणाकै लागि छलफलमा रहेकाले अनसन फिर्ता लिएर वार्तामा आउन उनीहरुले महतोलाई आग्रह गरेका छन् ।

