समाचारआइतबार, जेठ १२, २०७०
दिनभरको निर्माण रातभरको नोक्सान

पुल भाँच्चिएपछि बनाइएको डाइभर्सन पनि बारम्बार खोलाले बगाउँदा राजमार्गमा यात्रुहरु अलपत्र परेका छन् । तस्बीर: विद्रोही गिरी
दिनभर निर्माण गरेको डाइभर्सन रातिमा वर्षापछि आउने भलले बगाउँदा यात्रुले सास्ती ब्यहोर्नु परेको छ ।
गत असोजमा ओभरलोडको ट्रक गुडदा राजमार्गको पुल भाँचिएपछि खोलामा दक्षिणतर्फ डाइभर्सन निर्माण गरिएको थियो । असोजबाट जेठसम्म चार पटक डाइभर्सन निर्माण भएको छ । तर त्यो निर्माण टिक्न सकेको छैन् । दुई पटक त बनाएकै दिनमा खोलाले बगाएको छ ।
सडक डिभिजन कार्यालय बुटवलले डाइभर्सनमा लाखौं खर्च गरेको छ । तर काम भने जस्ताको त्स्तै छ । देशकै एकमात्र प्रमुख राजमार्ग बन्द हुने अबस्था आउँदा सरकारी काम झारा टार्ने मात्र भएपछि यात्रुहरुले कष्ट ब्यहोर्न परेको छ ।
बुटवलबाट पुर्व हिडेका र नारायणगढबाट पश्चिम हिडेको यात्रुहरुले ठूलो सास्ती पाएका छन् । पुल मर्मत गरेर सवारी साधन नियमिति गर्न भन्दा पनि डाइभर्सन निर्माण गर्दै रकम कमाउने खेलमा सडक डिभिजन कार्यालयका इन्जिनियरहरु लागेको स्थानीयबासी बताउँछन् ।
उपयुक्त ठाउँमा डाइभर्सन निर्माण नहुदा समस्या भएको हो । १० जेठ राति बगाएको डाइभर्सन ११ जेठ दिउँसो फेरि बनाइएको थियो तर त्यो पनि बगाएपछि यातायात अबरुद्ध भएको छ । यातायात अबरुद्ध हुदा करिब सात सय सवारी साधन अलपत्र परेका छन् ।
लोकाहा खोलाको पुल मर्मत कार्य करिब सकिएकाले मंगलबार सम्ममा डाइभर्सनको आबश्यकता नपर्ने सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिएका छन् ।
विद्रोही गिरी , नवलपरासी
