समाचारआइतबार, जेठ १२, २०७०

महतोको अनशन तोडियो, वार्ता सफल

हिमालखबर

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अनशनसँगै आन्दोलित सदभावना पार्टीको वार्ता टोली र सरकारी टोलीबीचको १२ जेठमा भएको वार्तामा उक्त दलले प्रस्तुत गरेको माग समाधान गर्ने सहमति भएसँगै अध्यक्ष महतोले पनि अनशन स्थगित गरेका छन् ।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै वार्ता समितिका संयोजक सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफ्नो दलले उठाएका माग पूरा गर्ने प्रतिबद्धता सरकारले जनाएकाले तत्काल अनशन अन्त्य गर्ने सहमति भएको बताए ।

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र शीघ्र निर्वाचनको मिति घोषणा गर्ने लगायत आफ्नो पार्टीले उठाएका विषयबारे सरकारले सकारात्मक जवाफ दिएकाले अनशनलगायत विरोधका सबै कार्यक्रम आजैदेखि स्थगन गर्ने निष्कर्षमा आफूहरू पुगेको कर्णले जानकारी दिए ।

त्यसैगरी सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले भने, “वार्ताका क्रममा सद्भावनाले प्रस्तुत गरेका संविधानसभा निर्वाचनको मिति तोक्न र निर्वाचन क्षेत्र निर्धारण आयोग शीघ्र गठन गर्न सरकार प्रतिबद्ध छ ।”

राजनीतिक दलसँगको परामर्शमा आगामी मंसीरको पहिलो साताभित्र निर्वाचन गर्ने गरी यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्ने सहमति भएको वार्ता समितिका सदस्य रहनुभएका मन्त्री पौडेलले बताए ।

उक्त पार्टीले उठाएका अन्य आठ मागका सन्दर्भमा प्रचलित कानुन, उपलब्ध साधन र स्रोतका आधारमा कार्यान्वयन गर्दै जान सरकारको सकारात्मक धारणा रहेकाले अनशन र विरोधका सबै कार्यक्रम फिर्ता लिन सद्भावना पार्टी सहमत भएकोे पनि पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>