समाचारसोमबार, जेठ १३, २०७०
राष्ट्रियता र लोकतन्त्रका लागि आमसभा

१५ जेठ बिहान नयाँबानेश्वरमा आयोजना गर्न लागेको आमसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्की । तस्वीरः देवयानी शिवाकोटी/हिमालखबर
नागरिक गणतन्त्र दिवसबारे जानकारी दिन १३ जेठमा राजधानीमा आयोजित कार्यक्रममा नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले १ चैत २०६९ मा भएको अन्तरिम संविधान संशोधन खारेज गर्नुपर्ने बताए । उनले बाधा अड्काउ फुकाउको नाममा असंवैधानिक र अलोकतान्त्रिक तरिकाले भएको संविधान संशोधन तत्काल खारेज गर्नुमा जोड दिए ।
पापड र अभियानले न्यायपालिकाको आधारभूत मान्यताको वर्खिलाप हुने गरी प्रधानन्यायाधीश नै कार्यकारिणी प्रमुख भएकाले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अविलम्ब प्रधानन्यायाधीश पदबाट राजिनामा गर्नुपर्ने माग गरेको छ । रायमाझी आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी नियुक्तिका लागि अयोग्य ठहर गरेको लोकमानसिं कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट बर्खास्त गर्न माग गरिएको छ ।
यस्तै पापड र अभियानद्वारा जारी संयुक्त अपिलमा पीडितको अधिकारका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश रद्द गर्नुपर्ने उल्लेख छ । राज्यका नियमित काम कारबाही र निर्णयमा विदेशीको समेत खुल्मखुल्ला चलखेल भएको भन्दै उनीहरूले राष्ट्रियता र राष्ट्रिय स्वाभिमान रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
अपिलमा शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई छायाँमा पर्न नदिन १५ जेठ बिहान ८.३० बजे नयाँबानेश्वर चोकमा हुने आमसभामा सहभागिताका लागि आव्हान गरिएको छ ।

