समाचारबुधबार, जेठ १५, २०७०
बस दुर्घटनामा मृत्यु हुनेको संख्या तेह्र पुग्यो
१५ जेठ बिहान यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेमा थाङपालकोट–३, का रणबहादुर पण्डित, सविना पण्डित, गीतादेवी बस्नेत, थाङपालकोट– ५ की मिठु सापकोटा, थाङपालकोट–६ का धने तामाङ, थाङपालकोट–९ का दमाइ तामाङ, गुन्सा–८ का छोटे बम्जन, भोताङ–२ का सिलेन तामाङ र बुधे तामाङ, भोताङ–३ का शेरबहादुर तामाङ, भोताङ– ८ का छिरिङ तामाङ र बरुवा– १ का मेन्दा तामाङ रहेका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३३ जनामध्ये सामान्य घाइते तीनजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र बाँकी ३० जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी काठमाडौँ लगिएको छ । घाइते ३० जनाको अवस्था गम्भीर रहेको र सबै अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
बसका चालक फरार रहेका र सहचालक घाइते भएका स्थानीय विजय खत्रीले जानकारी दिए । केही मृतकको शव दुर्घटनाग्रस्त बसले नै थिचेकाले अझै झिक्न सकिएको छैन भने बाँकी शव परीक्षणपछि आफन्तलाई बुझाउने तयारी भइरहेको छ । भोताङबाट काठमाडौँका लागि हिँडेको उक्त बस सडकबाट झन्डै १०० मिटर तल खोल्सामा खसेको थियो ।
यसैबीच स्थानीय उदय सापकोटाका अनुसार घाइतेमध्ये उपचारका लागि काठमाडौँ लगिएका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।रासस
