समाचारआइतबार, जेठ १९, २०७०
कञ्चनजंघा आरोहीको शव अर्को सिजनमा निकालिने
कञ्चनजंघा आरोहण गरी फर्कने क्रममा ७४०० मिटरको उचाईमा हिउँ पहिरोमा परी मृत्यु भएका दुई नेपाली, दुई हंगेरी र एक कोरियाली नागरिकको शव मौसमको प्रतिकुलता र हिमपहिरोका कारण निकाल्न नसकिएपछि शव निकाल्न गएको टोली अर्को सिजनमा निकाल्ने भन्दै १९ जेठमा फर्किएको छ ।
कञ्चनजंघा आरोहण को ४ नं आधार शिविरमा ४ जेठदेखि हराएका संखुवासभा मकालु–५ बस्ने फुदोर्जी शेर्पा, सङ्खुवासभाकै हटियाखोला–७ बस्ने विवश गुरुङ, हंगेरीयन नागरिक पिटर किस, जेड सोल्ट इरोस र कोरियन नागरिक नामसो पार्कको शव ९ जेठमा फेला परेको थियो ।
एक्सपिडिसन अप्रेटर एसोसिएसनका सचिव ईश्वरी पौडेलका अनुसार सेभेन समिट ट्रेकिङ एजेन्सीले पाँच दिनअघि हेलिकप्टर मार्फत उद्दारका लागि शेर्पाहरुको टोली कञ्चनजंघा पठाएको थियो । “शेर्पाहरु केही दिन बसेर माथि जाने प्रयास गरे, तर हिमपहिरो र लगातारको कुहिरो पानीले जान नसकेपछि काठमाडौं फर्किएका छन्,” पौडेलले बताए ।
हिउँमा शव नसड्ने भएकाले अर्को सिजन सुरु भएपछि फेरि प्रयत्न गरिने व्यवसायीले बताएका छन् ।
यसअघि पनि उद्दारका लागि गएको टोली मौसमको प्रतिकुलताका कारण शव उठाउन नसकी फर्केको थियो । मृतकका आफन्तहरुको अनुरोधपछि शव निकाल्न फेरि गरिएको प्रयास पनि सफल नभएपछि अब अर्को सिजनमा मात्रै निकाल्ने भएको हो ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
