थप समाचारआइतबार, जेठ १९, २०७०
पुस्तक प्रदर्शनीमा सवा दुई करोडको कारोवार
पाठ्यसामाग्री, साहित्य, धर्म, बिज्ञान, राजनीति, दर्शनका स्वदेशी र विदेशी पुस्तकहरुको प्रदर्शनीमा लेखकहरुलाई पाठकसँग साक्षात्कारसमेत गराइएको थियो । पुस्तकप्रति रुची राख्ने हजारौले अवलोकन गरेको त्यो प्रदर्शनीमा पुस्तक लोकार्पण, बिज्ञान प्रोजेक्ट प्रदर्शनी पनि गरिएको थियो ।
प्रदर्शनीका संयोजक केशव खत्री यो वर्षको प्रदर्शनीले पुस्तकमा रुची राख्नेको संख्या बढेको देखिएको बताउँछन् । प्रदर्शनीबाट पाठकको रुची बुझ्ने अवसर प्रकाशकहरुले पाएको र त्यसले पुस्तक प्रकाशन र बिक्री थप बढाउने उनको भनाई छ ।
“साहित्यिक किताबको खोजी र बिक्री पहिलेभन्दा बढी देखियो,” प्रदर्शनीमा स्टल राखेका हेरिटेज पब्लिसर्स एण्ड डिस्टिब्युटर्सका कृष्ण नेपाल भन्छन् । पैरवी प्रकाशनका देवराज चापागाईको बुझाईमा पहिलेभन्दा यो पटक साहित्यिक पुस्तकहरुमा अवलोकनकर्ताको बढी रुची देखियो । हरिवंश आचार्य, कृष्ण धराबासी, बिनोद चौधरी, कर्ण शाक्यका पुस्तकहरु बढी विकेको उनी बताउँछन् ।
प्रदर्शनीमा भारतीय पुस्तकहरु विक्री गरिरहेका बिमलेस मिश्र अरु बेलाभन्दा प्रदर्शनीको बेला भारतबाट आउने पुस्तक सस्तो पर्ने हुँदा पाठकहरुले फाईदा उठाएको बताए । उनले भने “अरु बेला पुस्तक ल्याउन बिभिन्न झन्झट हुनेगरेकोमा प्रदर्शनीका लागि नियम सहज बनाइएको हुँदा धेरै पुस्तक ल्याउन सकियो ।”
प्रदर्शनी अवलोकन गर्न आएका मानविकीशास्त्रका विद्यार्थी सुवास भट्ट बजारमा आएका पुस्तक हेर्न, छान्न र बजेट अनुसार किन्न प्रदर्शनीले सहयोग गरेको बताउँछन् ।
पानीले प्रदर्शनी केही मात्रामा प्रभावित भए पनि विदाको दिनमा ७–८ हजार र अरु दिन ४–५ हजार अवलोकनकर्ता आएका थिए ।
दुर्गा लामिछाने, हिमालखबर
