समाचारआइतबार, जेठ १९, २०७०
चरिकोट तनावग्रस्त, थप प्रहरी मगाइयो
द्वन्द्वकालमा माओवादीले जलाएको डोजरको कबाड रामेछापको नामाडीबाट ल्याउँदै गरेका कांग्रेस कार्यकर्तालाई चरिकोटमा रोकेर वाईसिएल कार्यकर्ताले पैसा मागेपछि वाईसिएल र तरुण दलबीच झडप भएको तरुण दलले बताएको छ ।
विवादको क्रममा तरुण दलका सानु शेर्पाले वाईसिएल दोलखाका अध्यक्ष नविन जिरेललाई हातपात गरेको आरोप वाईसिएल पक्षले लगाएको छ ।
विवादले झडपको रुप लिएपछि जिरेल र शेर्पा दुवैसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी भ्यानमै रहेका बेला तरुण दलका शेर्पालाई वाईसिएल कार्यकर्ताले रड प्रहार गरी कुटपिट गरेका छन् । वाईसिएल कार्यकर्ताको कुटपिटबाट शेर्पाको घाँटीमा चोट लागेको छ ।
एमाओवादी कार्यालय तोडफोड
शेर्पामाथि कुटपिट भएपछि आक्रोशित कांग्रेस कार्यकर्ताहरुले एमाओवादीको कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड समेत फालिदिएका छन् । उनीहरुले वाईसिएलको झण्डा समेत जलाईदिएका छन् ।
भ्यानभित्रै शेर्पामाथि प्रहार हुँदा पनि प्रहरी मुक दर्शक भएको आरोप कांग्रेसको छ ।
कांग्रेस कार्यकर्ताले एमाओवादी पार्टी कार्यालयमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
कांग्रेस दोलखाका प्रचार प्रमुख दीपशङ्कर चौलागाईले प्रहरीले शेर्पालाई कुटपिट गर्ने माथि कार्वाही नगरी एमाओवादी पार्टी कार्यालयको सुरक्षा मात्र गरेको आरोप लगाएका छन् ।
शेर्पालाई कुटपिट गर्न नेतृत्व गर्ने माओवादी नेता विशाल खड्का, वाईसिएल दोलखाका अध्यक्ष नविन जिरेल लगायतलाई पक्राउ गरी कार्वाहि नगरेसम्म आन्दोलन जारी रहने कांग्रेस दोलखाका सभापति ताराबहादुर कोईरालाले बताए ।
यता माओवादी नेता विशाल खड्काले भने सामान्य घट्नालाई कांग्रेसले ठूलो बनाएको आरोप लगाएका छन् । उनले शेर्पालाई कुट्न आफुले नेतृत्व गरेको नभै कुटपिट गर्नबाट वाईसिएललाई रोकेको बताए ।
थप झडप हुन नदिन रामेछापबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली बोलाइएको छ ।
सर्मिला बुढाथोकी, दोलखा

