समाचारसोमबार, जेठ २०, २०७०
पूर्ण समानुपातिक भए निर्वाचनमा भाग लिन्छौं: गुरुङ
क्रान्तिकारी पत्रकार महासंघद्वारा २० जेठमा तनहुँको दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा–माओवादीका नेता देव गुरुङले आन्दोलनरत ३३ दलीय मोर्चाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएमा संविधानसभा निर्वाचन स्वीकार्ने बताएका छन् ।
मिश्रित निर्वाचन प्रणाली अनुसार निर्वाचन भएमा देशमा पहिलेजस्तै संविधान पनि नबन्ने र चार दलीय हैकमवाद कायमै रहने भएकाले त्यो आफुहरुलाई मान्य नहुने गुरुङको भनाई थियो ।
चार दलीय सहमति अनुसार अहिले भइरहेको नागरिकता वितरण कार्यबाट विदेशी नागरिकले नागरिकता लिएको भन्दै गुरुङले मिश्रित प्रणालीबाट चुनाव भएमा तीनै विदेशीले चुनाव जितेर मुलुकको सिक्किमीकरण हुने दाबी गरे ।
गुरुङले संविधानसभा, न्यायपालिका, अन्तरिम संविधान सबै चार दलीय सिण्डिकेटले ध्वस्त पारेको आरोप लगाउँदै परिस्थिति सम्हाल्न नसकेपछि खिलराज रेग्मीले पनि सरकार सेनालाई बुझाउने र देशमा तानाशाहको उदय हुनसक्ने दाबी गरे ।
उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय जनासम्म दलका प्रतिनिधि छनोट गरेर संविधान बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।
पवन पौडेल, तनहुँ
