थप समाचारसोमबार, जेठ २०, २०७०

बाबुद्वारा छोरीको हत्या गरेको स्वीकार

हिमालखबर

छोरीको हत्या आशङ्कामा गिरफ्तार भएका सप्तरी बथनाहा गाविस–७ का चन्द्रिका राउतले १७ वर्षीया छोरी रुबीको हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ । भाडाका हत्याराको साथ लगाई छोरीलाई घर पठाएको नाटक रच्ने राउतलाई गिरफ्तार गरेको १० दिनपछि हत्याको रहस्य खुलेको हो ।

हत्याका लागि हत्याराको बन्दोबस्त गरिसकेपछि चन्द्रिकाले छोरीलाई भारत विहारको दरभङ्गास्थित फुपूको घरबाट सप्तरीको रम्पुरा मल्हनिया गाविसस्थित मामाघर ल्याएर राखेका थिए । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक रत्न पौडेलका अनुसार मामाघरमा दुई दिन राखेपछि दुईजना अपरिचितका साथ लगाई चन्द्रिकाले छोरीलाई घर पठाएका थिए ।

प्रहरीका अनुसार रम्पुरा मल्हनिया गाविसस्थित मामाघरबाट रुबीलाई साथ लिएर निस्केका ती दुई अपरिचितले केही घण्टापछि सुनसान ठाउँदेखि कोसी नदीको पश्चिम तटबन्ध छेउ रुबीको घाँटी रेटी हत्या गरे । रुबीको शवलाई उनीहरुले रातारात कोइलाडी–९ चट्टी टोलस्थित नहरछेउ ल्याएर आगोले जलाएर फालिदिएको अनुसन्धानबाट खुलेको छ ।

अनुहारलगायत शरीरको अधिकांश भाग जलेको अवस्थाको लास ८ जेठ बिहान ९ बजे फेला परेको थियो । जलेको शव चार दिनसम्म पहिचान भएको थिएन । राउतले बयानमा छोरी तल्लो जातको केटासँग भागेको घटनाबाट तनावमा रहेकाले थप अपमानित हुनु नपरोस् भनेर हत्या गरेको बताएका छन् ।

स्थानीय बजरङ्गी निमाविमा कक्षा आठमा अध्ययनरत रुबी गत चैत ३ गते छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारसँग भागेकी थिइन् । भागेकी छोरीलाई दुवै परिवारको संयुक्त पहलमा घर फर्काइएको थियो ।

बाबुले हत्या गरेको शङ्काका आधारमा रुबीका बुबा चन्द्रिकालाई गिरफ्तार गरेपछि हत्यामा संलग्न रहेको आरोपमा कोइलाडी गाविस–९ का मोहन साहलाई प्रहरीले गिरफ्तार गरेको छ भने अर्का एक आरोपी फरार छन् । हत्यारालाई रुबीको हत्याबापत बुबा चन्द्रिकाले रु १० हजार रुपैयाँ दिएको पनि पत्ता लागेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>