समाचारसोमबार, जेठ २०, २०७०
सहमतिपछि दोलखा बन्द खुल्यो
कबाडी सामानको विक्री करका विषयमा भएको विवादले झडपको रुप लिएपछि नेपाली कांग्रेससम्बद्ध तरुण दलले चरिकोट बन्द गराएको थियो । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको पहलमा २० जेठमा भएको वार्तामा दुई पक्षबीच सहमति भएपछि बन्द बजार खुलेको छ ।
सहमतिमा विवाद र कुटपिटको विषयलाई लिएर आगामी दिनमा कुनै दुष्मनी नराख्ने, विवादको विषयमा दुवै पक्षले कतै उजुरबाजुर नगर्ने, झडपमा घाईते भएकाहरुको शिघ्र स्वास्थय लाभको कामना गर्ने, एकले अर्कालाई लगाएको आरोपप्रति दुवै पक्षले आत्मआलोचना गर्दै त्यसलाई फिर्ता लिने र आगामी दिनमा कुनै पनि गैर कानूनी कामलाई संरक्षण नगर्ने उल्लेख छ ।
वाईसिएल कार्यकर्ताले तरुण दल दोलखाका नेता सानु शेर्पालाई १९ जेठ विहान प्रहरी भ्यान भित्रै कुटपिट गरेपछि त्यसको विरोधमा नेपाल तरुणदल दोलखाले जिल्ला बन्द गराएको थियो ।
बन्दको कारण जनजीवन प्रभावित भएपछि नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी र दोलखा उद्योग बाणिज्य संघले बन्द फिर्ता लिई समस्याको निकास निकाल्न दुबै पक्षलाई आग्रह गरेको थियो ।
रामेछापको नामाडिबाट द्वन्द्वकालमा माओवादीले जलाएको डोजरको कवाडी सामान ल्याउँदै गरेको ट्रक चरिकोटमा रोकेर वाईसिएल कार्यकर्ताले पैसा मागेपछि सानु शेर्पा लगायतका युवाहरुको वाईसिएल कार्यकर्तासंग विवाद भएको थियो ।
सर्मिला बुढाथोकी/दोलखा
