थप समाचारमंगलबार, जेठ २१, २०७०

मल्हम नपाएको घाउ

हिमालखबर

हिमाल आर्काइभ

ठीक आठ वर्षअघि २३ जेठमा चितवन, माडीवासीले अकल्पनीय बज्रपात व्यहोरेका थिए।

त्यो दिन खचाखच यात्रु लिएर देवेन्द्रपुरबाट हिंडेको ना १ ख ३२४५ नम्बरको बस बाँदरमुडे आइपुग्दा माओवादीले विद्युतीय धरापमा पारेर ठाउँका ठाउँ ३८ जनाको ज्यान लिएका थिए भने ७५ जनालाई गम्भीर घाइते बनाएका थिए।

त्यस घटनाका मृतकका परिवारजन र घाइतेहरूले घटनास्थलको स्मारकमा यस पटक पनि दीप प्रज्ज्वलन गर्नेछन्, अनाहकमा मारिएका आफन्तलाई सम्झेर आँसु झार्नेछन् र न्याय नपाएको पीडामा डुबेर फर्कनेछन्।

दुःखको सागर

अयोध्यापुरी–७ देवेन्द्रपुरकी धनकुमारी पौडेल सधैं खेतीपाती र वस्तुभाउको स्याहारमा व्यस्त हुन्थिन्। त्यस दिन भने भरतपुर नगई नहुने काम परेर श्रीमानसँग बस चढेकी थिइन्। तर, बसबाट नझर्दै उनको जिन्दगी अर्कैतिर हुत्तियो।

त्यसपछि ६ वर्ष ओछ्यानमै बिताएकी उनी अहिले बल्ल बैसाखीको सहारामा घर भित्र–बाहिर गर्न सक्ने भएकी छन्।

बस विस्फोटमा पर्दा उनको खुट्टा तीन ठाउँमा भाँचियो, हात पनि भाँचियो। गर्धन, ढाड सबैतिर गहिरो चोट लाग्यो। पूरै ६ वर्ष उपचारमा बिताएर पनि उनी अझै अस्पताल धाइरहेकी छन्।

घाइतेको सूचीमा नाम नपरेर उपचार खर्च पनि नपाएपछि धनकुमारीमाथि अरू पीडा थपियो। ठूलो ताकेता र संघर्षपछि गत वर्ष मात्रै सूची सच्याएर उनको नाम राखिएको छ।

सूचीमा नाम परेपछि पाएको राहतले उपचारमा लागेको खर्चको आधा पनि धानेन। अहिले पनि उपचार खर्च जुटाउन धौ–धौ छ। “बाबुआमालाई पाल्न धेरै खर्च लाग्छ भनेर छोराहरू अलग्गिइसके” दुई नातिनीको भरमा रहेकी धनकुमारी भन्छिन्, “बरु मरेको भए यस्तो दुःख त हुन्थेन।”

माडी घटनाका पीडितद्वय अयोध्यापुरीकी धनकुमारी पौडेल र उनका श्रीमान् भवेश्वर। तस्वीरहरूः सविता श्रेष्ठ

माडी घटनाका पीडितद्वय अयोध्यापुरीकी धनकुमारी पौडेल र उनका श्रीमान् भवेश्वर। उनका श्रीमान् भवेश्वर (७०) अहिले पनि घाइतेको सूचीमा छैनन्। उनको टाउको र गर्धनमा गहिरो चोट लागेको थियो।

आफैं घाइते उनी आफूभन्दा सख्त घाइते श्रीमतीको स्याहार गरिरहेका छन्। श्रीमतीको उपचार गरेर फर्कंदा रिउ खोलामा कागजपत्र बगेपछि घाइते प्रमाणित हुन गाह्रो परेको उनले बताए। “घाइते हो भनेर थाहा पाई–पाई प्रमाण माग्छन्” भवेश्वर भन्छन्, “चिन्ने र देख्नेहरूले भनेर पनि नहुनेरहेछ।”

घटनामा छोरी, ज्वाइँ, दुई नातिनी, छोरा र साली गुमाएर आफू पनि घाइते भएका गोपालनगरका लक्ष्मीकान्त घिमिरे भन्छन्, “परिवारै सिद्धियो, आफू पनि अरूकै भरमा बाँच्नुपर्ने भयो।”

माडी घटनाका घाइतेमध्ये एकजनाले आत्महत्या गरे भने दुई जनाको उपचारकै क्रममा मृत्यु भएको छ। उपचार खर्च अभाव, जीविकोपार्जन लगायतका समस्याले पीडितहरूको अवस्था दयनीय बनेको छ।

घटनामा परेका १५ जना अहिले पनि घाइतेको सूचीमा छैनन्। पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी सामान्य राहतबाटै बञ्चित उनीहरू स्वास्थ्य समस्याबाट ग्रस्त रहेको बताउँछन्।

अधिकांश पीडित गुजाराको समस्यासँग जुधिरहेका छन्। उपाध्यक्ष अधिकारीले घटनाको छानबिन भएर दोषीलाई कार्बाही भएपछि मानसिक राहत मिल्ने आशा व्यक्त गरे। “तर, माओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउनेमै झेल गरेको छ”, अधिकारी भन्छन्।

‘यस्तो राहत लिन्नौं’

माडी घटनाका मृतकको सम्झनामा निर्मित स्मारक।

बाँदरमुडेमा सर्वसाधारण चढेको बसमा बम पड्काउने माओवादी पार्टी दुई पटक सरकारको नेतृत्वमा पुग्यो, तर पीडितलाई फर्केर हेरेन। अरू दलले पनि माडीवासीको पीडा बुझ्ने कोशिश गरेनन्।

गएको फागुन तेस्रो साता माडी महोत्सव उद्घाटन गर्न हेलिकप्टरबाट आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यो घटना पार्टीको नीति विपरीत भएको भन्दै माडीवासीसँग क्षमा मागे।

उनले पीडितका लागि रु.६० लाखको प्याकेज कार्यक्रम र माडीमै २५ शैच्चयाको अस्पताल बनाइदिने आश्वासन पनि दिए। तर, बाँदरमुडे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्तिनाथ न्यौपाने भन्छन्, “प्रचण्ड त्यति आश्वासन दिएर गएकोगयै भए, काम केही गरेनन्।”

सरकारले ‘राहत प्याकेज’ भनी हालसालै पठाएको योजना घाइते र तिनका परिवार अनुकूल नभएको भन्दै माडीवासीले अस्वीकार गरेका छन्। जिल्ला विकास समितिमार्फत उपलब्ध गराइएको रु.६० लाखको राहत प्याकेज सामूहिक कोल्डस्टोर, माछापोखरी र गाईपालनमा लगाउनुपर्ने भनिएको छ।

“बिजुली नै नभएको माडीमा कस्तो कोल्डस्टोर चलाउने?” पीडित समितिका उपाध्यक्ष अधिकारी भन्छन्, “खर्च नभएर उपचार नपाएका घाइतेलाई विना बिजुलीको कोल्डस्टोर र माछापोखरीको के काम?”

-सविता श्रेष्ठ, चितवन

हिमालको १९-२६ जेठ अंकबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>