समाचारमंगलबार, जेठ २१, २०७०
उपराष्ट्रपति झा ६ दिने चीन भ्रमणमा
चीनको दक्षिणी प्रान्त युनानको राजधानी कुनमिङमा हुने प्रथम दक्षिण एशियाली व्यापार मेला उद्घाटनका लागि उपराष्ट्रपति परमानन्द झा आज दिउँसो त्यसतर्फ प्रस्थान गरेका छन् ।
चीन प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपराष्ट्रपति झाले आफू सद्भावना भ्रमणमा मात्र जान थालेकोले नेपालको तर्फबाट आफूले कुनै एजेण्डा नउठाउने स्पष्ट पारे । उनलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो ।
भ्रमणका क्रममा उपराष्ट्रपति झाले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति झाको टोलीमा उनकी धर्मपत्नी नविना झा, उपराष्ट्रपतिको कार्यालयका सचिव रवीन्द्रमोहन भट्टराई, स्वकीय सचिव कृष्णचन्द्र झा, आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइटेल, नायव शिष्टाचार महापाल नारायण मैनालीलगायतका छन् ।
उपराष्ट्रपति झा २६ जेठमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
