समाचारबिहीबार, जेठ ३०, २०७०
संविधानसभा चुनाव ४ मंसिरमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ३० जेठ साँझ बसेको अन्तरिम चुनावी मन्त्रिपरिषदको बैठकले ४ मंसिरमा संविधानसभा निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए । बैठकले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको उनले जानकारी दिए ।
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
यसैगरी बैठकले निर्वाचन क्षेत्र निर्धारणका सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । आयोगका सदस्यहरूमा नेत्र धिताल, डम्बर चेम्जोङ, मधुनिधि तिवारी रहेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल आयोगको सदस्य–सचिव चयन भएका छन् । आयोगलाई एक महिनाको समयावधी दिइएको छ ।
बैठकले निर्वाचनको मिति घोषणासँगै आन्दोलनरत नेकपा–माओवादीलगायत विभिन्न दलहरुलाई आफ्ना अडान त्यागेर वार्तामा आउन अपिल गरेको प्रवक्ता पौडेलले जानकारी दिए । सरकारविरुद्ध आन्दोलनरत नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टीलगायतका दलहरूको असहमतिका बाबजुद सरकारले निर्वाचनको मिति घोषणा गरेको हो ।
सात सचिव सरुवा
बैठकले विभिन्न मन्त्रालयका सात सचिवको जिम्मेवारी हेरफेर गरेको छ । विश्वप्रकाश पण्डितलाई उर्जा मन्त्रालय र कृष्णचन्द्र पौडेल उर्जा आयोगको सचिवको जिम्मेवारी दिइएको छ । यसैगरी गणेशराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट वन तथा भू– संरक्षण मन्त्रालय, हरेराम कोइरालालाई उर्जा आयोगबाट उपराष्ट्रपतिको कार्यालय, लालमणी जोशीलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गरिवी निवरण मन्त्रालयको जिम्मेवारी दिएको छ । त्यस्तै शारदाप्रसाद त्रिताललाई राष्ट्रपतिको कार्यालय र जनार्दन नेपाललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको छ ।
बैठकले नेपाली सेना र नेपाल प्रहरीका केही उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर र पदावधी समेत हेरफेर गरेको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै १७ प्रहरी नायव महानिरीक्षकको सरुवा गरेको छ भने पाँच नायव प्रहरी महानिरिक्षकको पदस्थापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले नागरिक उड्ययन प्प्राधिकरणको महानिर्देशकमा सतिशचन्द्रलाल सुमनलाई नियुक्त गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।
